प्रचण्डलाई प्रधानमन्त्री ओली फोन, के-के भयो कुराकानी ?

मंगलबार, १८ कार्तिक २०७७

काठमाडौँ – प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरेका छन । फोनमा ओली प्रचण्डलाई सहमतिमा आउने आग्रह गरेका छन ।

शनिबार दुई अध्यक्षबीच भएको वार्तामा ओलीले मिलेर जान नसकिएकाले पार्टीलाई सहमितमै विभाजन गरौँ भनेर प्रस्ताव गरेको विषय बाहिर आएको थियो। आफूसहित ६ जना सचिवालय सदस्यहरुको भेला गराएर प्रचण्डले प्रधानमन्त्रीबाट पार्टी फुटाउने प्रस्ताव आएको बताएका थिए ।

प्रधानमन्त्रीले प्रचण्डलाई उक्त प्रस्ताव गरेको बालुवाटारले घुमाउरो ढंगले स्वीकार गरेको थियो । तर त्यसको दुई दिनपछि प्रधानमन्त्री ओली आफैले प्रचण्डलाई फोन गरेर सहमतिका लागि आव्हान गरेका हुन ।

नेकपाका नेता देवेन्द्र पौडेलले दुई अध्यक्षबीच टेलिफोनमा खबर आदान प्रदान भएको पुष्टि गरे । फोन संवादमा ओलीले प्रचण्डलाई सहमति गरेरै पार्टी र सरकारलाई अघि बढाउन आग्रह गरेको नेता पौडेलले बताए ।

जवाफमा प्रचण्डले अब दुई अध्यक्षबीच मात्रै संवाद भन्दा पनि पार्टी कमिटिका बैठकहरु डाक्नुपर्ने अडान लिएका थियो । सोमबार ओली र दाहालबीच यो टेलिफोन संवाद भएपनि त्यसयता उनीहरुबीच वार्ता र छलफलका लागि अरु कुनै सुरसार भएको छैन ।