स्वदेशी लघुवित्तको नाफा ह्वात्तै बढ्यो, कति छ इपिएस ?
काठमाडौं – स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ह्वात्तै बढेको छ । अघिल्लो आर्थिक बर्षको सोही अबधि भन्दा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्तले ७४ प्रतिशत नाफा बढाएको छ ।
गत आर्थिक वर्षको असोज मसान्तसम्ममा १ करोड ९१ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको यस लघुवित्तले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३ करोड ३३ लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको छ। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खर्च नियन्त्रण गरेका कारण लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २ करोड ३३ लाख ७५ हजार रुपैयाँ बढेर ९ करोड ९४ लाख ६२ हजार पुगेको छ। त्यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा २ करोड २३ लाख ४२ हजार रुपैयाँ बढेर ५ करोड २४ लाख ८२ हजार रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा लघुवित्तको कर्मचारी खर्च १ करोड २१ लाख ८३ हजार रुपैयाँ घटेका कारण खुद ब्याज आम्दानी वृद्धिदरको तुलनामा सञ्चालन मुनाफा वृद्धिदर धेरै देखिएको हो।
२७ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १३ करोड ६८ लाख २२ हजार रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा लघुवित्तको चुक्ता पूँजी २३ करोड रुपैयाँ रहेको थियो भने जगेडा कोषमा २० करोड ३२ लाख रुपैयाँ सञ्चित थियो।
गत आर्थिक वर्षको असोज मसान्तसम्ममा ३३ रुपैयाँ ३६ पैसा रहेको लघुवित्तको प्रतिशेयर आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ४८ रुपैयाँ ४० पैसा पुगेको छ। त्यसैगरी, लघुवित्तको प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ५७ पैसा र मूल्य आम्दानी अनुपात १६।५३ गुणा कायम भएको छ।
समीक्षा अवधिमा लघुवित्तको निक्षेप १ अर्ब १० करोड ८२ लाख रुपैयाँबाट बढेर १ अर्ब १८ करोड ७३ लाख, सापटी २ अर्ब ३७ करोड ३१ लाखबाट बढेर २ अर्ब ६९ करोड १६ लाख रुपैयाँ र कर्जा ३ अर्ब ७० करोड ७७ लाख रुपैयाँबाट बढेर ४ अर्ब १३ करोड १३ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, लघुवित्तको निष्क्रिय कर्जा १।७० प्रतिशतबाट बढेर २।९९ प्रतिशत पुगेको छ। यससँगै लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा २ करोड ३१ लाख रुपैयाँ छुट्याएको छ। गत आवको यसै अवधिसम्ममा लघुवित्तले यस्तो व्यवस्थाबापत १ करोड ३४ लाख रुपैयाँ छुट्याएको थियो।