चुनाव हार्ने भएपछि ट्रम्प आक्रामक, अदालत जाने चेतावनी
काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतीय चुनाव हार्ने भएपछि आक्रामक रुपमा प्रस्तुत भएका छन । उनले चुनावमा धाधली भएको भन्दै आफू सर्वोच्च अदालत जाने चेतावनी दिएका छन ।
ह्वाइट हाउसबाट समर्थकहरूलाई सम्बोधन गर्दै ट्रम्पले मतगणना जारी रहेको राष्ट्रपतीय चुनावमा धाँधली भएको दाबी गरेका हुन् । मतगणना जारी रहेको बेलामा अहिले पनि केहीले भोट हालिरहेको आरोप लगाउँदै ट्रम्पले आफू सर्वोच्च अदालत जान लागेको बताएका हुन्।
उनले सबै प्रकारको मतदान रोकिनुपर्ने बताएका छन् । यस किसिमको कार्यबाट अमेरिकी जनतामाथिको धोका र देशप्रतिको अपमान भएको ट्रम्पको भनाइ छ । मतगणनामा प्रतिस्पर्धी जोजेफ आर.बाइडेनलाई पछ्याइरहेका ट्रम्पले आफूले चुनाव जितिसकेको अवस्था भए पनि अब आफूहरुको लक्ष्य इमानदारीलाई जोगाउनु रहेको जिकिर गरे ।
ट्रम्पले चुनावमा धाँधली गरेको आरोप लगाए पनि अहिलेसम्म त्यस्तो कुनै घटना सार्वजनिक भएको छैन।
पछिल्लो मत गणनाअनुसार बाइडेन २२८ इलेक्टोरल मत प्राप्त गरेर ट्रम्पभन्दा अघि छन् । ट्रम्पले २१३ इलेक्टोरल मत प्राप्त गरेका छन् । अमेरिकी राष्ट्रपतिमा विजयी हुनका लागि २७० इलेक्टोरल मतको आवश्यकता पर्छ ।