एमाले नेपाल–खनाल समूहले शनिबार संगठन विस्तार अभियान घोषणा गर्ने

शुक्रबार, २० चैत्र २०७७

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहका स्थायी कमिटीका सदस्यको छलफलले शनिबार संगठन विस्तार तथा सुदृढीकरण अभियान घोषणा गर्ने निर्णय गरेको छ।

शुक्रबार दिउँसो राजधानीमा बसेको बैठकले गत चैत ४ र ५ गतेको राष्ट्रिय भेलाबाट पारित भएको राजनीतिक प्रतिवेदनलाई कार्यकर्तामाझ लैजाने, संगठन विस्तार र सुदृढीकरण अभियानलाई अगाडि बढाउने निर्णय भएको नेता योगेश भट्टराईले जानकारी दिए।

भट्टराईका अनुसार शनिबार बैठक बसेर अभियानबारे विस्तृत जानकारी र कार्यक्रम घोषणा गर्ने निर्णय बैठकले गरेको छ ।

नेपाल समूहको छलफलले पार्टीका महासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि भएको कारबाही पूर्वाग्राही भएको निष्कर्ष निकालेको छ। बैठकले यसको चर्को विरोध गरेको छ।

केपी ओलीले पार्टीको नवौं महाधिवेशनबाट पारित विधान विपरीत र पूर्वाग्रह राखेर कारबाही गरेको भन्दै नेता रावलले यसबाट केपी ओली एमालेलाई विभाजित गर्न उद्दत भएको पुष्टि हुने बताए।