ओली सरकारका चार मन्त्रीको सांसद पद खोसिदैँ

बिहिबार, २६ चैत्र २०७७

काठमाडौं – नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चारजना मन्त्रीको सांसदको पद खोसिने भएको छ ।

प्रतिनिधिसभाको बिहीबार बोलाइएको बैठकमा नेकपा माओवादी केन्द्रले कारबाही गरेका चार सांसद पदमुक्त भएको घोषणा गर्ने संसद सचिवालयको तयारी छ ।

संसद बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादी केन्द्रले उनीहरूलाई सांसदबाट हटाउन पठाएको पत्रमा छलफल भएको थियो। सोही बैठकमा उनीहरूलाई सांसदबाट हटाएको सूचना आज जारी गर्ने तय भएको हो।

यसअघि गत मंगलबार माओवादी केन्द्रले ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरी र सहरी विकास मन्त्री प्रभु साहलाई सांसद पदबाट हटाउन संसद सचिवालयलाई पत्र पठाएको थियो।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल परित्याग गरेका सांसद पदमुक्त हुन्छन् । सांसद पद खारेज भएपछि उनीहरुको मन्त्री पद पनि जानेछ ।