यसो गर्नुहोस् तपाईको लक्ष्य आफै पूरा हुनेछ

बुधबार, १८ चैत्र २०८२

काठमाडौं – सफलताको लागि नभइ नहुने कुरा सबैलाई थाहा नहुन सक्छ र थाहा हुनेहरूले पनि उनीहरूको आफ्नै लापरवाहीले गर्दा सफलता कता कता अप्ठ्यारोमा अल्जिएको हुन्छ र उनीहरूलाई म असफल नै छु जस्तो लागिरहेको हुन्छ।

एउटा भोकाएको मान्छेले खाना खान पर्यो भने शुरुमा उसको अगाडि थाल हुन्छ किनभने थाल वा प्लेट विना खाना खान सम्भव हुँदैन । हुन त खाना पातमा वा हातैमा थापेर पनि खाना सकिन्छ तर थालमा खाँदा जति मज्जा हुन्छ, आनन्द हुन्छ त्यति मज्जा वा आनन्द हुँदैन । मान्छेहरू सफल हुन मात्र चाहन्छन, पैसा कमाउन मात्र चाहन्छन्, अरू भन्दा शक्तिशाली हुन चाहन्छन्, विचरा तर उनीहरूको अगाडि खाना खाने थाल नै हुँदैन।

“विचरा उनीहरूको अगाडि खाना खाने थाल नै हुँदैन भनेर मैले के भन्न खोजेको हुँ भने सफल हुन चाहने जो सुकै मान्छे होस् सबै सँग स्पष्ट लक्ष्य हुनुपर्दछ तर उनीहरूसँग हुँदैन। लक्ष्य जसलाई अंग्रेजीमा गोल. भनिन्छ । फुटबल खेल्दा पनि गोल हानिन्छ तर त्यहाँ दुई छेउमा गोल राखिएको छैन भने जति फुटबल खेलेपनि, त्यसको अर्थ नै हुँदैन किनभने त्यहाँ गोल नै छैन ।

सफल हुनको लागि सबैभन्दा पहिला मान्छेले एउटा लक्ष्य बनाउनुपर्दछ । जब राम्रो स्पष्ट लक्ष्य हुन्छ त्यसपछि यो आफै पूरा हुन शुरु गर्दछ। मलाई अति भोक लागेको छ तातो–तातो ताजा खाना खान्छु भन्ने तर अगाडि थालनै नराख्ने व्यक्ति र मलाई सफल हुन अति चाहना छ भन्ने तर अगाडि लक्ष्य नै नराख्ने ती दुई व्यक्तिहरू दुवै बराबरी बुद्धिका हुन्छन्।

हामी सबैलाई थाहा छ भर्खर फत्की–फत्की पाकेको तातो खाना खानलाई थाल नै चाहिन्छ। हुन त फेरी तपाईले भन्नुहोला सेलाए पछि हातैमा थापेर खाए पनि त हुन्छ नि, तर यदि सेलाएको खाना हातैमा थापेर भोक मेट्छु भन्ने चाहना कसैले राख्छ भने उसलाई लक्ष्य नै पो किन चाहियो त, थाल वा लक्ष्य चाहिने भनेको त सफल हुने व्यक्तिलाई मात्रै हो । त्यो जाबो हातमा थापेर खाना खाने व्यक्तिलाई के को इज्जत जाला भन्ने डर । यदि इज्जतिलो हुन चाहन्थ्यो सफल हुन चाहन्थ्यो भने त थालमा नै खाना खान्थ्यो । हात थापेर खाने त मगन्तेले हो। हो ठीक त्यस्तै सफलै हुन चाहने हो भने लक्ष्य नै चाहिन्छ । स्पष्ट लक्ष्य बनाउनै पर्दछ । लक्ष्य नै नबनाइकन सफल हुन्छु भन्नु पनि यस अर्थमा बेइज्जत नै हुन्छ।

सफलताको लागि लक्ष्य हुनु भनेको मौरीको लागि फूल जस्तै हो, फूल छैन भने मौरी त बाँच्दै बाँच्दैन नी । त्यस्तै लक्ष्य नै छैन भने सफलता पो कसरी प्राप्त गर्न सकिन्छ ?

तपाईको निरन्तर प्रयासले त्यो लक्ष्य छिट्टै पूरा हन्छ । लक्ष्य स्पष्ट हुनुपर्दछ । त्यसपछि यो आफै पूरा हुन शुरु गर्दछ। “लक्ष्य स्पष्ट हुनुपर्दछ” भनेर मैले के भन्न खोजेको भने कति समय भित्र, जस्तै कति घण्टभित्र, कति दिनभित्र, कति महिना भित्र वा कति वर्षभित्र लक्ष्य पूरा गर्ने हो । त्यसको मिति समेत तोक्नुपर्दछ । मिति तोकेर बनाइएको लक्ष्य मिति नतोकीकन बनाइएको लक्ष्य भन्दा कैयौं गुणा शक्तिशाली हुन्छ।