झलनाथ खनाललाई के भएको हो ? किन हुन्छन् बारम्बार बिरामी ?
काठमाडौं – पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल बारम्बार बिरामी परिरहन्छन् । उनी कहिले उपचारका लागि चीनका विभिन्न अस्पताल पुग्छन् भने कहिले भारतका महङ्गा अस्पतालमा भर्ना हुन्छन् । खासमा उनलाई के भएको हो ? यस विषयमा समचार आएको पाइदैन् ।
फेरी उनी बिरामी परेका छन् । नर्विक अस्पतालले उनको उपचार नेपालमा सम्भव नभएको भन्दै भारत रिफर गरेको छ । स्वास्थ्यमा समस्या देखिएपछि थप उपचार लागि उनी दिल्ली पुगेका छन् ।
पूर्वप्रधानमन्त्री खनाल सोमबार नर्भिक अस्पताल भर्ना भएका थिए । अस्पतालका अनुसार खनाललाई साढे १२ बजे नर्भिकबाट दिल्लीतर्फ लगिएको हो । पोस्ट कोभिडका बिरामी खनाललाई फोक्सोमा पानी जमेको र रगतमा संक्रमण अस्पतालको भनाइ छ ।
अस्पताल भर्ना भएदेखि अक्सिजन सपोर्टमा रहेका खनाललाई क्रोनिक निमोनियाको शंका गरी उपचार गरिएकामा उनलाई दिल्ली पठाइएको अस्पतालका जनसम्पर्क अधिकारी सोमनाथ बास्तोलाले जानकारी दिए । ‘हामीले सक्दैनौं भनेर डिस्चार्ज दिएका होइनौं, उहाँले पहिलादेखि नै दिल्लीको एपोलो अस्पतालमा उपचार गराइरहनुभएकाले परिवारको सल्लाहमा लगिएको हो’ उनले भने ।
बास्तोलाको अनुसार खनाललाई मिर्गौलाको पुरानो समस्या छ । ‘हिजो उहाँलाई २ पिन्ट रगत चढाउन लागिएको थियो तर शरीरले एक पिन्ट भन्दा बढी लिएन’ बास्तोलाले भने, ‘कोभिडपछि शरीरका विभिन्न अंगहरुमा क्षति गर्छ उहाँलाई भएको त्यही हो, मिर्गौलाको पुरानो बिरामी भएकाले मिर्गौलामा पनि असर गरेको भन्न सकिन्छ, सबै रिपोर्टहरु आउन बाँकी छ ।’
अस्पतालका अनुसार खनालको ज्वरो घटेको छैन भने लगातार खोकी लागिरहेको छ । शरीर शिथिल भएर काम छुट्ने भएकाले क्रोनिक निमोनियाको शंका गरिएको छ ।
यसअघि खनालले भारतको एपोलो अस्पतालमा उपचार गराएका थिए । गएको माघ अन्तिम साता एपोलोमा उपचार गराएर खनाल स्वदेश फर्किएका थिए ।
गत वैशाखमा खनाललाई कोरोना संक्रमण देखिएको थियो । त्यतिबेला उनी १० दिन नर्भिक अस्पतालमा नै उपचारपछि संक्रमणमुक्त भई वैशाख २७ मा घर फर्किएका थिए ।
उनको दुवै मिर्गौलामा समस्या देखिए पछि गत ३० माघमा एपोलो अस्पताल भर्ना भएका थिए । उनलाई अस्पतालले मिर्गौला प्रत्यारोपण गर्न सुझाव दिएको छ ।