मनाङको बाढी अपडेट : नासो गाउँपालिका कार्यालय, प्रहरी कार्यालय र बैंक बगायो

बुधबार, २ असार २०७८

काठमाडौँ – अविरल वर्षासँगै आएको बाढीले हिमाली जिल्ला मनाङमा ठूलो क्षति पुर्‍याएको छ । बाढीले भौतिकसंरचना भत्काएको छ । नासो गाउँपालिकाका अध्यक्ष चन्द्र घलेका अनुसार मनाङको नासो गाउँपालिका–३ धारापानीमा रहेको गाउँपालिकाको कार्यालय बुधबार बगाएको छ । उनका अनुसार गाउँपालिकाको कार्यालयसँगै धारापानीमा रहेको प्रहरीचौकी धारापानी, प्रभु बैंक, प्राइम कमर्सियल बैंक र पाँचवटा होटेल बाढीले बगाएको छ । साथै, नासो गाउँपालिकाको विभिन्न खोलामा रहेको झोलुंगे पुलसमेत बगाएको छ । यस्तै, धारापानीमा रहेको प्राइम बैंकका एकजना कर्मचारी सम्पर्कविहीन भएकाले कर्मचारीको खोजी कार्य जारी रहेको छ ।

मर्स्याङ्दीले धारापानीमा रहेको कार्याल धारापानीसगै खोत्रो, तिल्चे, बगरछाप र दानक्यु जोखिममा रहेको छ । उक्त ठाउँमा बिजुली अवरुद्ध हुनुका साथै सञ्चारसमेत अवरुद्ध छ । बाढीले सडक बगाएकाले बेँसीसहर चामे सडक पूर्ण रूपमा बन्द भएको छ । मंगलबार मात्र नासो गाउँपालिका १ मा रहेको ताल गाउँका ६० घर विस्थापित भएका छन् भने मनाङको चामे गाउँपालिकाको करिब ७० घरपरिवार विस्थापित भएका छन् ।