गण्डक ब्यारेजका सवै ढोका खोलियो, २० गाउँ उच्च जोखिममा
रुपन्देही –लगातार परेको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ । मङ्गलबार नारायणी नदीको देवघाट जल मापन केन्द्रमा नदीले चेतावनीको सतह पार गरेपछि यस क्षेत्रमा हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै गण्डक ब्यारेजका सबै ३६ वटा ढोका खोलिएको भूआर्जन तथा जनसम्पर्क कार्यलयका अधिकारी तारासिंह थापाले जानकारी दिए ।
ब्यारेज जीर्ण भएका कारण ४ लाख क्युसेक पानी कटेपछि उच्च जोखिम मानिने उनले बताए । पानीको सतह अझै बढे बि ग्याब बाँध फुट्न सक्ने र बस्ती नै डुबानमा पर्ने संभावना बढेको उनले बताए ।
पानीको सतह बढेपछि अहिले पश्चिम नवलपरासीका २० गाउँ जोखिममा परेका छन् । यसैबीच गण्डक ब्यारेज र अन्य खोलाहरूका कारण डुबान हुन थालेपछि स्थानीयहरूलाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।
जोखिम क्षेत्रमा तत्काल उद्दार र क्षति न्यूनीकरणका लागि सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताए ।