मेलम्ची बाढी अपडेट : १३० घर पुरिए, आठ जनाको मृत्यु

बुधबार, २ असार २०७८

सिन्धुपाल्चोक – अविरल वर्षसँगै मंगलबार राती आएको बाढीले ठूलो धनजनको क्षति भएको छ । बाढी परी १ सय ३० घर पुरिएका छन् भने ८ जनाको ज्यान गएको छ ।

मेलम्ची नगरपालिकाको मेलम्ची पुरानो बजार र हेलम्बु गाउँपालिकाका आमहेलम्बु बसपार्क, तिम्बु, क्यिुल, इचोकका पक्की घर पुरिएको र कच्ची घर बगेको स्थानीयले बताएका छन् । बाढी पहिरोमा परी ६० जना अझै बेपत्ता रहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिएका छन् ।

हेलुम्बुका करिब ३ सयजनालाई उद्धार गरेर इन्द्रवती क्याम्पस र इन्द्रश्वरी माध्यमिक विद्यालयमा राखिएको छ। मेलम्ची नगरपालिका र स्थानीय युवाको सहभागितामा हिजो साँझ बाढीपहिरो प्रभावितको उद्धार गरिएको हो ।

मेलम्चीको पुरानो बजारमा रेडियो मेलम्चीलगायतका २० वटा पक्की घर पुरिएका छन्। १० भन्दा बढी कच्ची घर बगेका छन्। सबैभन्दा धेरै क्षति हेलम्बु गाउँपालिका–१ मा पुगेको छ।

हेलम्बुमा पनि बाढीले सयभन्दा बढी घर, नौवटा माछा फार्म बगाएका छन्। त्यस्तै गरी आमहेलम्बु बसपार्कमा पार्किङ गरी राखिएका चार÷पाँचवटा गाडी बाढीले बगाएको छ। इन्द्रावती खोलामा आएको बाढीले उक्त बसपार्कमा रहेका आठ÷१० वटा कच्ची घर बगाएको स्थानीयको भनाई छ । ती घरमा ससाना होटेल सञ्चालनमा थिए।

त्यस्तै, नेपाली सेनाको हेलिकप्टरले मेलम्चीबाट पाँच जनालाई उद्धार गरिसकेको छ। मेलम्चीको मनमोहन स्मृति भवनमा दुई जना, होटेल रोजको छतबाट दुई जना, होटेल रोजको नजिकैको घरबाट एक जना गरेर पाँच जनालाई नेपाली सेनाले उद्धार गरेको हो।