दीपक राज गिरी र जितु नेपालबीच बोलचाल बन्द, यस्तो छ कारण

बुधबार, २ असार २०७८

काठमाडौं – हाँस्यकलाकारद्धय दीपकराज गिरी र जितु नेपालबीचको सम्बन्धमा दरार आएको पाइएको छ । लामो समयदेखि हाँस्य कलाकारिता तथा चलचित्रमा सहकार्य गर्दै आएको गिरी र नेपालबीच पछिल्लो समय मनमुटाव बढेको हो ।

कि एड्भटाइजिङले उत्पादन गर्ने टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमिडी क्लव’बाट दिपाश्री निरौलालाई हटाएपछि उनीहरुबीचको सम्बन्ध चिसिएको हो । अघिल्लो सिजनमा मुन्द्रेको कमिडी क्लवकी अध्यक्ष बनेकी दिपालाई हटाएर करिस्मा मानन्धरलाई राखेपछि सम्बन्ध विग्रीएको हो ।

ब्लकबस्टर सिरिज ‘छक्का पञ्जा’देखि व्यवसायिक सहकार्य गर्दै आएका उनीहरुबीचको विग्रीएको सम्बन्धले आगामी दिनमा धक्का लाग्ने सम्भावना बढेको छ ।

यसै वर्षको सुरुआतमा छक्का पञ्जाका आगामी सिरिजमा दुईजनाले सहकार्य नगर्ने हल्ला चल्न थालिसकेको थियो ।

झन्डै एकवर्षपछि दीपकले आफूहरुबीच मतभिन्नता रहेको पुष्टि गरेका छन् । मंगलबार जन्मदिन मनाइरहेका जितुलाई सामाजिक संजालमार्फत शुभकामना दिँदै दीपकले आफूहरुबीच मतभिन्नता रहेको जनाएका हुन् ।

दीपकले फेसबुकमा लेखेका छन् ‘कहिलेकाहिँ हाम्रा मतभेदका छालहरु एकअर्कासँग ठोक्किए पनि हाम्रो गति कहिल्यै रोकिएन र रोकिँदैन पनि ।’