जोन एकेडेमीले मेलम्ची बाढी पीडितलाई निःशूल्क शिक्षा दिने

शुक्रबार, ४ असार २०७८

काठमाडौँ – काठमाडौँको नयाँबस्तीमा रहेको जोन एकेडेमीले मेलम्ची बाढी प्रभावितलाई निःशूल्क शिक्षा दिने भएको छ । एकेडेमीले मंगलबार राती अविरल बर्षापछि आएको बाढीबाट प्रभावित बालबालीकालाई निशूल्क शिक्षा दिने भएको हो ।

काठमाडौँ महानगरपालिका वडा नम्वर ६ बौद्ध, नयाँबस्तीमा रहेको जोन एकेडेमीले सिन्धुपाल्चोकको प्राकृतिक विपतीमा परि ठूलो क्षती व्यहोरिरहेका परिवारका २५ जना बालबालीकालाई निःशूल्क शिक्षा दिने स्कुलको प्रिन्सिपल भोजकुमार धमलाले बताए ।

सिन्धुपाल्चोकको मेलम्ची तथा हेलम्बु क्षेत्रमा मंगलबारदेखि आएको भारी बर्षा र बाढीका कारण ठूलो धन जनको क्षति भएको थियो । बाढी पीडित परिवारको पीडामा मल्हम लगाउन उक्त घोषणा गरिएको प्रिन्सिपल धमलाको भनाई छ ।

जोन एकेडेमीमा नर्सरीदेखि कक्षा १० सम्म पढाइ हुन्छ । बौद्धिक व्यक्तित्वहरुको समूहद्वारा संचालित यो विद्यालय निजी क्षेत्रको अग्रणी शैक्षिक संस्थाको रुपमा चिचिन्छ ।