गोकर्णेश्वर नगरपालिका सिन्धुपाल्चोकलाई आर्थिक सहयोग गर्ने

शुक्रबार, ४ असार २०७८

काठमाडौं – काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले सिन्धुपाल्चोकलाई ५ लाख रुपियाँ दिने घोषणा गरेको छ । गत मंगलबार राती आएको बाढीले सिन्धुपाल्चोक प्रभावित भएको छ ।

बाढीले धेरै घर र वस्ती भत्काएको छ भने नागरिकहरु घरवारविहीन भएका छन् । नगरपालिकाका मेयर सन्तोष चालिसेले बुधवार नै छिमेकी जिल्लालाई अप्ठेरो परेको बेला सहयोग गरिएको बताए । गरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसालले फेसबुकमार्फत सहयोग गरिएको स्पष्ट पारेका छन् ।

‘पीडित नागरिकहरुको दुःख पीडालाई आफ्नै पीडा सम्झेर विपतको घडीमा धैर्य धारण गर्ने र सुरक्षित स्थानमा रहन अनुरोध गर्दै छिमेकी गोकर्णेश्वर नगरपालिकाको तर्फबाट पाँच लाख रुपैंया बराबरको आवश्यक सहयोग अर्पण गर्दछौं’ रिसालले फेसबुकमा लेखेका छन् ।

मेयर चालिसेले विपद्को यो घडीमा नगरपालिकाले सबैभन्दा पहिले सक्रियता देखाएको बताए । उनले पीडित नागरिकको सहज व्यवस्थापनका लागि सरकार र सरोकारवाला निकायसँग आग्रह गरेका छन् ।

सिन्धुपाल्चोकलाई सहयोगको घोषणा गर्ने यो नगरपालिका सबैभन्दा पहिलो स्थानीय तह हो । गोकर्णेश्वर नगरपालिाकाले घोषणा गरेपछि काठमाडौं महानगरपालिकाले पनि एक करोड रुपिँया सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।