ईश्वर पोखरेल तीन बर्षपछि फर्किए आफ्नो निर्वाचन क्षेत्र
काठमाडौँ – नेकपा एमालेका महासचिव ईश्वर पोखरेल तीन बर्षपछि आफ्नो निर्वाचन क्षेत्रमा फर्किएका छन् । निर्वाचन घोषणा भएको अवसर पारेर कोरोना महामारी र निषेधाज्ञाकै बेलामा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ फर्किएका हुन् ।
पोखरेलले शुक्रबार काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा निर्माण भइरहेका विभिन्न विकास योजनाहरुको निरीक्षण गरेका छन् । महासचिव पोखरेलले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ स्थित बूढानीलकण्ठ नगरपालिकाको वडा नम्बर–६ मा च्यासिडोलपार्क र धरमपुर बस्तीको अवलोकन गरेका हुन् ।
साथै उनले वडा नम्बर ७ मा रहेको पानचोक सामुदायिक भवन र हेपाली सडक ढलान लगायतको विकास योजनाहरुको निरीक्षण गरे । पूर्व उपप्रधानमन्त्री पोखरेलले केही दिनअघि बुढानिलकण्ठ नगरपालिकाकै वडा नम्बर ४ र ६ मा भइरहेका बिभिन्न विकास योजनाहरुको पनि निरीक्षण गरेका थिए ।
सरकारले मध्यावधि चुनावको घोषणा गरेको अवस्थामा एमाले महासचिव पोखरेलले आफ्नो निर्वाचन क्षेत्र, काठमाडौं ५ लाई ध्यान दिन थालेका हुन् । तीन बर्षसम्म हराएका पोखरेल एकाएक फुल्किएपछि स्थानीय आश्चर्य चकित भएका थिए ।