प्रगतिका बाधक हुन् रिस र लोभ

शुक्रबार, १३ चैत्र २०८२

काठमाडौँ – रिस र लालच अर्थात लोभ यस्तो स्वभाव हो जसको अधिकपनाले न जीवन बन्छ न प्रगति नै प्राप्त हुन्छ । रिस र लालचले त केवल हाम्रो मनलाई छेद विच्छेद गर्दछ । हाम्रो सफलतामा तगारो बनेर उभिन्छ । हामीलाई गन्तव्यमा पुग्नबाट रोक्छ ।

एक राजासँग सबै सुख सुविधा र हरेक चिज थिए । धेरै सेवक हरेक पल राजाको सेवामा तयार रहन्थे । राजाको अगाडि खानपिनको लागि दैनिक धेरै प्रकारका पकवान हुन्थ्यो । यति सबै भएपछि पनि राजाको मन शान्त हुँदैनथ्यो । एउटा समस्या समाप्त हुनेबित्तिकै अर्को आइहाल्थ्यो ।

एकदिन राजा आफ्नो राज्यमा घुमिरहेका थिए उनले एकजना सन्तको सानो कुटि देखे । राजा सो कुटिमा पुगे, त्यहाँ सन्त ध्यानमा बसेका थिए । राजा उनको नजिक बसे । जब सन्त ध्यानबाट उठे तब उनले राजालाई देखे । राजाले सन्तलाई प्रणाम गरे र आफ्नो समस्या बताए । उनले सन्तसँग भने- कुनै यस्तो उपाय बताइदिनुहोस्, जसले मेरो सबै समस्या समाप्त होस् ।

सन्तले राजालाई मन शान्त पार्नको लागि ध्यान गर्न सूझाए । राजा केहि समय आँखा बन्द गरेर बसे, तर उनको दिमाग यताउताको कयौँ कुरामा अल्झियो । उनले ध्यान गर्न सकेनन् र आँखा खोले । राजाले भने– गुरुजी मेरो लागि ध्यान गर्न कठिन छ ।

सन्तले भने केहि छैन हिँड्नुहोस केहि समय बागवानीमा घुमौँ । बागवानीमा केहि यस्ता विरुवा पनि थिए जसमा काँडा थिए । राजाले अनजानमा एक यस्तो विरुवा छोए जसले उनको हातबाट रगत निस्कन थाल्यो । सन्तले राजालाई तुरुन्तै कुटिमा लगे र हातमा लेप लगाइदिए ।

सन्तले भने– राजन तपाईंको हातमा साना काँडा पसे जसले रगत बग्न थाल्यो । योभन्दा ठूलो काँडा तपाईंको मनमा छन् । रिस, लालच, अर्कासँग जलनको भावना, यी सबै मनको लागि काँडाजस्तै हुन् । जबसम्म यी काडा निकालिँदैन तबसम्म तपाईंको मन शान्त हुन सक्दैन । यीनलाई छोड्नुभयो भने तपाईंको सबै समस्या समाधान भएर जान्छन् ।

अतः हामीले रिस र लालच त्याग्न सक्यौँ भने अनिमात्र जीवन अर्थपूर्ण हुुन्छ ।