मर्स्याङ्दी बग्न थाल्यो, कस्तो छ अबस्था ?
काठमाडौँ – हिमालपारीको जिल्ला मनाङ भएर बग्ने मर्स्याङ्दी नदी केही बेर थुनिएर बग्न थालेको छ । नेस्याङ गाउँपालिका ४ हुम्डेमा नदी वरिपरिबाट गएको पहिरोले शनिबार केहीबेर थुनिएको नदि बग्न थालेको हो ।
‘पहिरोले एकछिन मर्स्याङ्दी थुनियो, अहिले बगिरहेको छ,’ मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले भने, ‘पानीको सतह बढेको छ।’
विगत एक सातायता अत्यधिक वर्षाका कारण मर्स्याङ्दी नदीमा उर्लिएको बाढी शनिबार झनै बढेको लामिछानेले बताए। हुम्डेमा थुनिएको मर्स्याङ्दी बग्न थालेपछि तल्लो तटीय क्षेत्रमा जोखिम बढ्ने भन्दै सबैतिर सूचना दिइएको उनले बताए। उनले भने, ‘तल्लो तटीय क्षेत्रमा मर्स्याङ्दी वरिपरि नबस्नु भनेर सूचना दिएका छौं।’
नदीमा उर्लिएको बाढीका कारण चामेबाट हुम्डे जाने ट्रसको पुल नाघेर पानी बगिरहेको छ। नदीमा डुङ्गा, बालुवा, माटो लगायत मिसिएर लेदो बगेको छ भने नदीले बगाएर ल्याएको रुख लगायत पुलमा अड्किएको सिडिओ लामिछानेले बताए। नदीमा पानीको सतह बढ्दै गए पुलमा थुप्रिएका रुखसहित डुङ्गा माटोले फेरि मर्स्याङ्दी थुनिन सक्ने खतरा भएको उनले बताए। बाढीले पुल भत्काउन सक्ने अवस्था समेत रहेको उनको भनाइ छ।
सदरमुकाम चामेमा केही दिनअघि नै थुनिएको मर्स्याङ्दी अहिलेसम्म पनि पूर्ण रुपमा खुल्न नसकेको सिडिओ लामिछानेले बताए। ‘चामेमा च्याट्टे खोलामा बाढीसँगै आएको ठूला ढुङ्गाहरुले छेकिएर ताल बनेको छ, नदी एउटा किनारबाट बगे पनि पूर्ण रुपमा खुलेको छैन,’ उनले भने। चामेमा च्याट्टेखोला र घट्टेखोलामा आएको बाढीले यसअघि नै १० घर भत्काइसकेको छ भने झण्डै तीन सय जना विस्थापित भएका छन्।