निर्वाचनका लागि ८ अर्ब ५० करोड माग्ने आयोगको तयारी

सोमबार, ७ असार २०७८

काठमाडौँ– निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सरकारसँग खर्च माग्ने तयारी गरेको छ। आगामी कार्तिक र मङ्सिरका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले ८ अर्ब ५० करोड भन्दा बढी रकम माग गर्न लागेको हो ।

आयोगले निर्वाचनमा लाग्ने खर्चको अनुमान गरिसकेको र सरकारसँग माग गर्ने आयोगका एक आयुक्तले जानकारी दिए । उनका अनुसार दुई चरणमा हुने निर्वाचनमा ८ अब ५० करोड रकम खर्च हुने अनुमान आयोगको छ ।

‘निर्वाचनमा ८ अर्ब ५० करोड रकम लाग्ने अनुमान आयोगको छ, अब सरकारलाई जानकारी गराएर रकम माग्छौँ,’ आयोगका एक आयुक्तले भने । आयोगले सो रकम निर्वाचनका लागि लाग्ने लजिस्ट सामग्रीको खरिदमा खर्च गर्ने ती आयुक्तले जानकारी दिए ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले खर्चको टुङ्गो लगभग लाग्ने क्रममा रहेको र केही दिनमा नै टुङ्गाउने बताए । ‘खर्चको अनुमान लगभग भइसकेको छ, अब केही दिन भित्रैमा टुङ्गिन्छ,’ आयोगका प्रवक्ता श्रेष्ठले भने ।

आयोगले सरकारसँग बजेट माग गरेपछि आवश्यक सामग्री खरिदका लागि टेन्डर गर्ने तयारीसमेत गरिरहेको छ । सरकारले आगामी २६ कात्तिक र ३ मङ्सिरका लागि प्रतिनिधि सभाको निर्वाचन गर्ने गरी मिति घोषणा गरिसकेको छ ।