राधीले बोलायो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

मंगलबार, ८ असार २०७८

काठमाडौं – राधी विद्युत् कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असार ७ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार कम्पनीको सभा असार २९ गते कम्पनीको केन्द्रीय कार्यालय, त्रिपुरेश्वरमा, काठमाडौंमा बिहान ११ बजे बस्ने छ ।

सभाले संचालक समितिको बैठकले गरेको निर्णयानुसार आफ्ना सेयरधनीहरुलाई चुक्तापूँजीको ३६.५ प्रतिशत बोनस सेयर (कर बाहेक) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, बोनस सेयर जारी गरे पश्चात कायम हुने चुक्तापूँजीको १४७.५२ प्रतिशत (१ः१.४७५२) को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।

त्यसैगरी, सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गरिनुका साथै लेखापरिक्षकको नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ ।

सभाको अन्य प्रस्तावमा नियामक निकायहरुको निर्देशनमा प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सो गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने रहेको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि असार १५ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असार १४ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।