काठमाडौं महानगरले प्रस्तुत गर्‍यो १८ अर्बको बजेट

बिहिबार, १० असार २०७८

काठमाडौं– काठमाडौं महानगरपालिकाले १८ अर्ब रुपैयाँ अढी बजेट प्रस्तुत गरेको छ । आज महानगरले १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार रूपैयाँको बजेट ल्याएको हो। नगर सभाको नवौं अधिवेशनमा उपप्रमुख हरिप्रभा खड्कीले आर्थिक वर्ष २०७८७९ का लागि उक्त रकम बराबरको बजेट प्रस्तुत गरेकी हुन्।

बजेटमा पूर्वाधार विकासतर्फ १० अर्ब ८० करोड, कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ३ अर्ब ७५ करोड ७७ लाख, सामाजिक विकासतर्फ २ अर्ब ७० करोड, आर्थिक विकास क्षेत्रतर्फ ५५ करोड र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १ अर्ब १५ करोड विनियोजन गरिएको छ।

बजेटमा कोभिड रोकथाम, नियन्त्रण तथा उपचार, भौतिक पूर्वाधार विकास, लैङ्गिक समानता, फोहोरमैला व्यवस्थालगायतका विषयलाई प्राथमिकतामा राखिएको छ। बजेटमा ज्येष्ठ नागरिक विशिष्टीकृत सेवासहितको महानगर विशेष अस्पताल सञ्चालन गर्न बजेट विनियोजन गरिएको छ। यसैगरी प्रत्येक वडामा कम्तिमा एउटा सार्वजनिक शौचालय, प्रत्येक वडामा नमुना विद्यालय, न्यूतम एउटा पार्क, ज्येष्ठ नागरिकलाई आवश्यक पर्ने स्वास्थ्यलगायतका सेवा सुविधापनि बजेटमा समावेश गरिएको छ।