पूर्व गृहमन्त्री अधिकारीले दिउसै रात पारेपछि…
काठमाडौं – गृहमन्त्री खगराज अधिकारीले गत मंगलबार सुरक्षा बिटमा काम गर्ने पत्रकारलाई बोलाएर सुधारका विविध पक्षबारे सुझाव लिए । जसक्रममा मन्त्री अधिकारीले आफूले मन्त्रालयबाट दुई रुपैयाँ पनि कमाउने आकांक्षा नराखेको बताए । धेरै सुधार गर्न नसकेपनि बिगार्ने काम भन्ने नगर्ने उनको भनाई थियो ।
तर, मन्त्री अधिकारीले एक विषयमा भने पत्रकारकै अघि दिउसै रात पारेका छन् । भेटघाटमा बोल्ने क्रममा मन्त्री अधिकारीले दाङमा प्राकृतीक स्रोतको दोहन भएको विषय आएपछि आफूले दाङका सिडिओसँग परिचय लुकाएर सोधपुछ गरेको बताएका थिए । ‘सिडिओले सर्वसाधारणसँग कसरी कुरा गर्छन् भनेर बुझ्न सुरुमा मैले परिचय पनि दिइन, उहाँले राम्रैसँग कुरा गर्नुभयो,’ मन्त्री अधिकारीले भनेका थिए ।
मन्त्रीले सिडिओमाथि छड्के गरेको उनको आशय थियो । तर, पछि दाङका सिडिओ दीर्घनारायण पौडेलसँग बुझ्दा खासमा त्यस्तो रहेनछ । सचिवालयका कर्मचारीले मन्त्रीले कुरा गर्न चाहेको भनेर सुरुमै जानकारी दिएर त्यसरी फोन गरेका थिए । पत्रकारले सिडिओ पौडेलसँग बुझ्दा खासमा पहिले नै जानकारी दिएर नै मन्त्रीले उनीसँग कुरा गरेका पुष्टि भयो । वास्तविकता बुझेपछि पत्रकारले आफूहरुलाई मन्त्रीले झुक्याएको थाहा पाए । मन्त्री अधिकारी कतै सस्तो लोकप्रियताको पछि त लागेका होइनन् भन्ने यो घटनाले देखाएको छ ।
सर्वोच्चको अन्तरिम आदेश पछि मन्त्री अधिकारी पदमुक्त भइसकेका छन् । पदमुक्त हुँदै गर्दा उनले दाङका सिडियो पौडेललाई सरुवा गरेर गएका छन् । उनलाई गृह मन्त्रालयमा तानिएको छ ।