यी हुन् सन्तोषीका ह त्यारा, कसरी भएको थियो ह त्या ?

बिहिबार, १० असार २०७८

काठमाडौं – विभिन्न पशुपंक्षीको आवाज निकालेर चर्चा बटुलेकी सन्तोषी सुब्बालाई त्यही आवाज अभिसाप बन्यो । गएको शुक्रबार पदमसम्मत होटलमा बसेकी उनी भोलिपल्ट साढे १२ बजेतिर फर्पिङको एक चिया पसलमा गइन् । त्यही चिया पसलमा सुनाएको विभिन्न पशुपंक्षीको आवाजले उनको ज्यानै लग्यो ।

सानैदेखि पशुपंक्षीप्रति लगाव भएकी उनी छाडा छाडिएका जनवारलाई घरसम्म ल्याउँथिन्, खाना खुवाउँथिन् । उनी जनावरसँग यति नजिकिएकी थिइन् कि पशुपंक्षीको आवाज दुरुस्तै निकाल्न थालेकी थिइन् । यतिसम्म कि उनले स्थान अनुसार कागको आवाज निकालिदिन्थिन् ।

शुक्रबार पदमसम्मत होटलमा बसेकी उनी भोलिपल्ट साढे १२ बजेतिर फर्पिङको एक चिया पसलमा गइन् । साथमा भएको अलिअलि पैसा खर्च भएर गोजी रित्तिएको थियो । ‘बेलुका के खाने, कसरी घरसम्म जाने भन्ने समस्यामा परिछन् । त्यसैले कसैले सहयोग गर्छ कि भनेर चियापसलमा बसेर थरिथरिका आवाज निकालेर सुनाइरहेकी थिइन् ।

उनले आफूलाई बस्न समस्या भएको पनि सुनाइन् । झण्डै ५ घन्टा त्यहाँ बस्दा दक्षिणकाली–काठमाडौं चल्ने बसका सहचालक सुरेश तिम्सिना उनलाई नियालिरहेका थिए ।

स्थानीय रुपमा बनाइएको मदिरा सेवन गरेर बसिरहेका उनले सन्तोषीलाई गाडीमा बस्ने व्यवस्था मिलाइदिने प्रस्ताव राखे । अन्य केही विकल्प थिएन, सन्तोषी उनको पछि लगिन् । प्रहरीको दाबीअनुसार दक्षिणकाली पुगेपछि चाहिं सन्तोषी शौचालय गइन् । सुरेशले पच्छ्याए, शौचालय गएपछि सन्तोषीलाई बलात्कार गर्न खोजे ।

महाशाखाका डीएसपी निशान थापा भन्छन्, ‘प्रतिकार गर्न खोजेपछि उनले सुरुमा सलले घाँटी थिचे र ढुंगाले टाउकोमा हानेर विभत्स हत्या गरेका हुन् ।’

बुधबार शव भेटिएलगत्तै काठमाडौं प्रहरी परिसर, टेकु र अपराध महाशाखाको टोली अनुसन्धानमा खटियो । एकातिर उनको मोबाइलमा केन्द्रित भएर प्राविधिक अनुसन्धान अघि बढिरहेको थियो भने अर्कातिर प्रहरी आसपासका क्षेत्रमा सोधपुछ गरिरहेको थियो ।

‘उनले विभिन्न आवाज निकाल्ने भएकाले पनि धेरैले नोटिस गरेका रहेछन्,’ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) खापुङ भन्छन्, ‘केही पर रहेको चिया पसलमा उनी लामो समय बसेको थाहा भयो ।’ पसलमा बसेका व्यक्तिहरुबारे अनुसन्धान अधिकृतहरुले खोजी गर्न थाले । त्यसक्रममा तिम्सिना आफ्नो कोठामा नभएको खुल्यो ।

‘पसलमा भएकामध्ये तिम्सिना गायब हुनुले उनीमाथि शंका बढायो,’ खापुङ थप्छन्, ‘उनको खोजी गर्दै जाँदा कोठामा रगत लत्पतिएको कपडा र मृतकको मोबाइल पनि भेटियो ।’ तिम्सिना चाहिं असनमा रहेका एक जना आफन्तकहाँ गएर लुकेका थिए ।

‘सनाखत भइसकेपछि अनुसन्धानले गति पाइहाल्यो,’ खापुङ भन्छन्, ‘आफन्तकहाँबाट पक्राउ परेपछि तिम्सिनाले हत्या गरेको स्वीकारे ।’ उनले हत्यापछि ‘आमा बिरामी भएको’ बताएर ट्याक्सी रिजर्भ गरी भागेर टेकु आएको पनि बताए । त्यहाँबाट उनी हिंड्दै असन गएका थिए । त्यहींबाट उनी समातिएका हुन् ।

हाल प्रहरीले ज्यानसम्बन्धी कसूरमा उनीविरुद्ध अनुसन्धानका लागि म्याद थप गरेर विस्तृत छानबिन गर्ने तयारी गरेको छ ।

धर्मपुत्रीका रुपमा १८ वर्षदेखि कालोपुलमा बसिरहेकी उनी आफ्नै संसार बसाउन चाहन्थिन् । बुबा धनबहादुर तामाङको चप्पल बिक्री गर्ने पेशा पनि निषेधाज्ञाका कारण राम्रोसँग चलेको थिएन । त्यसैले पनि उनलाई आफ्नै खुट्टामा उभिनु थियो । खर्च जोहो गर्ने शिलशिलामा उनी फपिङ पुगेकी थिइन् ।