प्रचण्डलाई ओलीको फोन, के के भयो कुराकानी ?
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबी टेलिफोन बार्ता भएको खुलासा भएको छ । सम्पादकहरुसँग बिहीबार भएको छलफलमा प्रचण्डले ओलीले फोन गरेको खुलासा गरेका हुन् ।
प्रचण्डले एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले २४ जेठमा फोन गरेको बताएका हुन । २३ जेठमा माधवकुमार नेपाल समूहलाई एकताका लागि आह्वान गरेका ओलीले भोलिपल्ट प्रचण्डलाई फोन गरेका थिए । फोनमा ओलीले ‘वामपन्थीको सरकार सिध्याउने, कांग्रेससँग मिलेर सरकार बनाउनेमा पुग्नुभयो होइन ? भनेर सोधेका थिए ।
‘मैले कांग्रेस त तपाईंभन्दा सयौं गुणा वामपन्थी, लोकतन्त्रवादी, क्रान्तिकारी भएर आयो । गर्नुहुन्छ के ? भनेँ’ उनले भने, ‘कांग्रेस संविधानको रक्षा गर्ने भनेर अडिएको छ, तपाईँ संविधान सिध्याउन हिँड्नु भएको छ । कांग्रेसले लोकतन्त्रको रक्षा गर्ने भनेको छ, तपाईं लोकतन्त्र सिध्याउन हिँड्नुभएको छ ।’
उनले अघि भने, ‘कांग्रेसले तपाईं विदेशीको टाङमुनि छिर्यो भन्छ, तपाईं टाङमुनि छिर्नुभएकै छ । छिरेको मात्र होइन, पुरै आत्मसमर्पण गरेर पुरै दलालहरुलाई ल्याउन थाल्नुभएको छ । अनि कांग्रेस चाहिँ दक्षिणपन्थी, तपाईचाहिँ वामपन्थी कहाँ हुनुभयो ? लौ प्रमाणित गर्नुस् ।’
आफूले यसो भन्दा प्रधानमन्त्री ओलीले भाषण धेरै नगर्नुस् भनेको प्रचण्डले सुनाए ।