राष्ट्रपति सवार हेलिकप्टरमाथि गोली प्रहार

शनिबार, १२ असार २०७८

काठमाडौँ – राष्ट्रपति सवार हेलिकप्टरमा गोली प्रहार भएको छ । हेलिकप्टर ल्यान्ड हुने बेला गोली लागेको बताइएको छ ।

कोलम्बियाका राष्ट्रपति इभान ड्युक चढेको हेलिकप्टरमाथि गोली प्रहार भएको छ । हेलिकप्टरमा सवारहरूले इन्जिनमा केही भए जस्तो आवाज सुनेका स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार भेनेजुएलाको सीमा नजिकै उडिरहेका बेला गोली प्रहार भएको हो।

हेलिकप्टरमा गोली लागे पनि त्यहाँ सवार सबै जना सकुशल रहेको समाचारमा बताइएको छ। हेलिकप्टरमा राष्ट्रपतिसहित दुई मन्त्री र नार्ते डि सान्तान्डेर प्रान्तका गभर्नर सवार रहेको जनाइएको छ।

सो घटनापछि त्यसलाई राष्ट्रपति ड्युकले ‘कायरतापूर्ण हमला’को संज्ञा दिएका छन्। साथै यस किसिमको ‘हिंसात्मक हमला वा आतंकवाद’बाट आफू रक्तिभर नडराउने बताएका छन्।

‘हाम्रो मुलुक यस किसिमको धम्कीसँग जुध्न सक्षम छ’, राष्ट्रपति ड्युकले भनेका छन्, ‘हाम्रा सुरक्षा दस्ताले त्यसमा जिम्मेवार समूहको खोजी गरिरहेका छन्।’

आक्रमणमा लेफ्टिस्ट नेशनल लिबरेशन आर्मी ९इएलएन० जिम्मेवार रहेको हुनसक्ने जनाइएको छ। इएलएन कोलम्बियाको क्याटाटुम्बो क्षेत्रमा क्रियाशील विद्रोही समूह हो। सन् १९६४ मा स्थापना भएको सो समूहले भूमि तथा सम्पत्तिको विभेदकारी वितरण भएको भन्दै सशस्त्र विद्रोह गर्दै आएको छ।

सो समूहलाई कोलम्बियासहित अमेरिका र युरोपियन युनियनले आतंककारी संगठन भएको बताएका छन्।