म प्रधानमन्त्री बन्दिन : माधब नेपाल
काठमाडौं – नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आफू प्रधानमन्त्री नबन्ने बताएका छन् । प्रधानमन्त्री बन्नका लागि विभिन्न ठाउँबाट प्रस्ताव आएको बताउँदै आफू कसलैलाई धोका दिने पक्षमा नरहेको जिकिर गरेका हुन् ।
शेरबहादुर देउवाको साटो आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव आएको, तर आफूले स्वीकार नगर्ने उनको भनाई छ । गठबन्धनका शीर्ष नेताहरुले शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले भने, माधव नेपाललाई प्रधानमन्त्रीको अफर आउँछ भन्ने होइन, आइसक्यो । शेरबहादुरजीलाई विचैमा पत्तासाफ गर्नुस्, तपाई भइहाल्नुस् भन्ने छ ।’
एमालेको एकता जोगाउनुपर्ने मत राख्दै आएका ओली समूहकै नेताहरुले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुभन्दा नेपाललाई बनाउनुपर्ने बताएका थिए । तर नेता नेपालले भने पदका लागि गठबन्धनलाई धोका दिन नसक्ने बताएका छन् । उनले भने, ‘माधव नेपाल धोका दिने मान्छे होइन । जुन प्रक्रिया अगाडि बढेको छ, त्यहाँ धोका दिने पक्षमा छैन । हस्ताक्षर फिर्ता लिने पक्षमा छैन ।’
राष्ट्रियता, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशीता बचाउन पाँच दलीय गठबन्धन बनेको उल्लेख गर्दै उनले ओलीसँग सहकार्यको सम्भावना नरहेको बताए । ‘प्रधानमन्त्री पद दिएपछि माधव नेपालको मन विचलन हुने हो कि भन्ने पनि होला । त्यो सम्भावना छैन,’ उनले भने, ‘प्रचण्ड र हामीबीच फुट ल्याउन उहाँले नेकपामा हुँदा पनि अनेक चाल खोज्नुभएको हो । उहाँको यस्तो खुवी भएको मान्छे हो ।’
सम्बोधनका क्रममा उनले एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको चर्को आलोचना गरेका छन् ।ओलीमा सत्ता उन्माद रहेको भन्दै नेता नेपालले भने, ‘शक्ति, सरकार र पैसाको मात लागिसकेपछि मान्छेलाई नियन्त्रण गर्न गाह्रो हुँदोरहेछ, ओलीलाई यही भएको हो ।’
विश्वमा निर्वाचनबाट पनि तानाशाही जन्मिएको र नेपालमा ओलीको नाममा नयाँ चरित्र पाएको भन्दै उनले भने, ‘केपी ओलीलाई सत्ता भएपछि उहाँले अरु देख्नुहुन्न ।’
नेकपामा रहँदा पनि प्रधानमन्त्री पद त्याग्नुपरे कुर्सी भाचिदिन्छु भनेको प्रसँग निकाल्दै नेता नेपालले अहिले पनि त्यो ओलीमा त्यो प्रवृत्ति कायमै रहेको बताए । ‘उति बेला पनि पद छोड्नुपरे कुर्सी भाचिदिन्छु भन्नुभएको थियो, अहिले शेरबहादुरजीले दावी गर्दा पनि कुर्सी भादिदिनुभयो । प्रतिनिधिसभा विघटन त्यसैको कारण हो,’ पूर्वप्रधानमन्त्री नेपालले भने, ‘न रहे बाँस, न रहे बासुरी ।’
एमाले नेता नेपालले आफूहरुको लडाई ओलीविरुद्ध नभई ओली प्रवृत्तिविरुद्ध भएको स्पष्ट पारे ।