जनताको जीवनको जिम्मा पार्टीले लिन्छ : माइला लामा

आइतबार, १३ असार २०७८

काठमाडौँ – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज माइला लामाले जनताको जीवनको जिम्मा पार्टीले लिने बताएका छन् । नेकपाले आयोजना गरेको रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै लामाले जनताको समस्यामा संधैभ पार्टी साथमा हुने बताए ।

‘कोरोनाका कारण राष्ट्र र नागरिकलाई परेको समस्यामा पार्टी पनि सहभागी हुन्छ ।’ कार्यक्रमलाई संबोधन गर्दै लामाले भने, ‘केन्द्रीय रक्तसंचार केन्द्रमै रगतमा अभाव हुँदै गएको भन्ने जानकारी पाएपछि रक्तदान आयोजना गरिएको हो । ’

“कोरोनाका कारण रगत अभावका कारण नागरिकको ज्यान गइरहेको सुन्नमा आएको छ । राष्ट्र र नागरिकलाई आएको संकटमा सहभागी हुन्छौं भनेर पार्टीले आयोजना गरेको हो । यसमा पार्टीका नेता, कार्यकर्ता, तथा युवायुवतीहरुको उत्साहजनक रुपमा सहभागी हुनुभएको छ । कोरोनासँगको लडाइँमा रक्तदानले सहयोग हुनेछ” माइला लामाले भने ।

नेपाल रेडक्रसको केन्द्रीय रक्तसंचार केन्द्रमा आयोजना गरिएको कार्यक्रममा करिब २ सय पार्टीका नेता कार्यकर्ता र समर्थक तथा शुभचिन्तकले रक्तदान गरेका थिए ।

आफ्नो पार्टी जनताप्रति उत्तरदायी भएको हुनाले रक्तदान आयोजना गरिएको लामाले बताए । उनले रक्तदानले नागरिकको ज्यान जोगाउन सहयोग पुग्ने विश्वास गरे । “कोभिड–१९ जो विपत्ति खडा गरेको छ, यो विपत्तिसँग लड्न भावनात्मक रुपमा एकता रक्तदानले सहयोग गर्ने विश्वास लिएका छौं” लामाले भने ।

उनले संसदभित्र रहेका पार्टीहरुलाई जनताको स्वास्थ्यभन्दा सत्ताको लुछाचुडी गरिरहेको बताउँदै अहिलेको व्यवस्थाप्रति निरासा र चिन्ता बढेको बताए । उनले आफ्नो पार्टीले वैज्ञानिक समाजवादमार्फ जनताका सबै खाले समस्या समाधान गर्न खोजेको स्पष्ट पारे ।

लामाले आफ्नो पार्टी र सरकारबीच भएको तीन बुँदे सहमति कार्यान्वयन नभएको भन्दै अगाडी भने, “सरकार र हाम्रो पार्टीबीच भएको तीन बुँदे कार्यान्वयन नहुँदा हाम्रा धेरै नेता कार्यकर्ता जेलमै हुनुहुन्छ । तीन बुँदामा हाम्रो पार्टीले गरेको प्रतिवद्धताअनुसार हाम्रो पार्टी गइरहेकै छ । तर, सरकारले आफ्नो प्रतिवद्धता पूरा नगरेकोले आक्रोस बढेको छ” लामाले भने ।

त्यसैगरी नेकपाका काठमाडौँ सेक्रेटरी तुलसीनारायणले रक्तदानमा सहभागी हुने र समन्वय गर्ने रेडक्रसलाई धन्यवाद दिए । पार्टीले आयोजना गरेको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्त संचार विभागका निर्देशक दिप्यराज पौडेलले नेकपा काठमाडौँ जिल्ला धन्यवाद व्यक्त गरे । पार्टीलाई सम्मानपत्र दिदै उनले आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा रहेको बताए ।