निरन्तर जनताको साथमा नेकपा इलाम

आइतबार, १३ असार २०७८

इलाम – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी इलामले आफ्ना गतिविधिलाई तिब्र पारेको छ । पार्टीले यतिबेला जनश्रम, कोभिड पीडित जनतालाई सहयोग, आफ्नै आन्तरिक उत्पादन र कार्यकर्ताहरुको बैचारिक स्तरलाइ सुदृढ गर्न निरन्तर स्कुलिङ्गमा समेत लागेको छ ।

पार्टीले माइ नगरपालिकाका र रोङ्ग गाउँपालिकामा जनश्रमदान गरेको छ । यसमा भत्किएका बाटो मर्मत, खानेपानीको मुहान सरसफाइ र कुलो पैनीहरुको मर्मत गर्ने काम गरेको नेकपा इलामले जनाएको छ । नेकपाले कोरोना पीडित जनतालाई सकेको सहयोग गर्दै स्थानीय पालिकासँग सम्वनय गर्दै उनीहरुको उपचार र उद्धारमा समेत सहयोग गरिरहेको छ ।

नेकपाले आफ्नै आन्तरिक उत्पादनका निम्ति १५ रोपनि जग्गा लिजमा लिएर बाख्रापालन, फलफुल र सब्जी खेतिकोसमेत तयारीमा जुटेको छ । अलैंची र अदुवासमेत रोप्ने कामसमेत गरेको नेकपा इलामका सचिव मौसमले बताए ।

पार्टी इलामका सम्पूर्ण शहिदहरुको स्मरण र सम्मानमा एउटा सहिद समाजघर निर्माण गर्ने तयारी स्वरुप ५ रोपनी जग्गा लिंदै कामलाई अगाडि बढाएको उनको भनाई छ । कोरोना महामारिका कारण जनतामा सहजै जान असजिलो भएपनि आफ्नो राजनीतिक विषय जनतामा पुगाउन र सबैसँग छलफलको वातावरण बनाउन पार्टी पहल गरिरहेको र यतिबेला पार्टी र सबै जबस श्रम र अध्यनमा जोडिएको जिल्ला इन्चार्ज सुमनसिंहले बताए ।