असार १८ बाट सबै यातायात चलाउने चेतावनी

सोमबार, १४ असार २०७८

काठमाडौँ – यातायात व्यवसायी र मजदुर संघ–संगठनहरुले असार १८ गतेबाट सबै खालका यातायात चलाउने चेतावनी दिएका छन् । सोमबार उपत्यकाका सीडियोहरुको बैठकले २५ सिट क्षमताभन्दा माथिका सार्वजनिक गाडिहरु संचालन गर्न दिने निर्णय गरेपछि उनीहरुले यस्तो चेतावनी दिएका हुन् ।

व्यवसायीले असार १५ गतेबाट सार्वजनिक सवारी साधन सञ्चालन गर्ने सरकारको निर्णय एकांकी भएको भन्दै सच्याउन आग्रह गरेका छन् । उनीहरुले देशैभर सबै किसिमका सवारी साधन चलाउने व्यवस्था गर्न माग गरेका छन् ।

आफ्नो माग सुनुवाई नभए आफुहरुले आगामी असार १८ गतेबाट देशभरका सम्पूर्ण सार्वजनिक सवारी साधनहरु चलाउने घोषणा समेत गरेका छन् ।

नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदूर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले संयुक्त विज्ञप्ति निकालेर यस्तो चेतावनी दिएका छन् ।