बौद्ध घटनाले लियो नयाँ मोड, गम्भीर रहस्योद्घाटन
काठमाडौं – काठमाडौँको बौद्धमा बयस्क व्यक्तिको खुट्टा भेटिएको विषयले नयाँ मोड लिएको छ । प्रहरीको अनुसन्धानले फरक रहस्योद्घाटन गरेको छ ।
घटनास्थलमा पुगेका प्रहरी अधिकृतहरुले हत्यापछि शव व्यवस्थापन गर्न खोजिएको हुन सक्ने दाबी गरेपनि अनुसन्धान गर्दै जादा अर्कै रहस्य खुलेको छ । सुरुवातमा शव व्यवस्थापन गरिएको हुनसक्ने दाबी गर्ने प्रहरी अहिले तान्त्रिकको खोजीमा जुटेको छ ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंह भन्छन्, ‘वस्तुस्थितिले कुनै तान्त्रिकले शंख बनाउन मानिसकको खुट्टाको हड्डी निकालेको हो कि भन्ने आशंका उब्जाएको छ ।’ बरामद खुट्टा कुनै व्यक्तिको हत्यापछि व्यवस्थापन गरिएको नभइ शव दाहसंस्कार गर्ने ठाउँबाट ल्याइएको हुन सक्ने उनको आशंका छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको पनि उस्तै आशंका छ । अनुसन्धानको दायरामा तान्त्रिक आउनुका पछाडि प्रहरी अधिकृतहरु निश्चित कारण देखाउँछन्, अपराध अनुसन्धान कार्यालयका एसएसपी चन्द्र कुवेर खापुङ भन्छन्, ‘पहिलो कुरा हालसम्म कोही पनि आफ्ना मान्छे हराएको भनेर खोज्दै आएका छैनन्, मिसिङ केशका पनि कुनै म्याच भएका छैनन् ।’
खुट्टाबाट हड्डी खुर्किएर निकालिएको हुनाले पनि तान्त्रिकतिर शंका सोझिएको उनी बताउँछन् । ‘शव व्यवस्थापन गर्नुपर्ने भए, त्यो व्यक्तिले किन हड्डी खुर्किएर निकाल्छ ?’ खापुङले भने, ‘फरेन्सिक डाक्टरले पनि हड्डी निकालिएको भनेका छन् ।’
फेरि शव जलेको अवस्थामा भेटिएकाले पनि आर्यघाटबाट खुट्टा ल्याइएको हुन सक्ने उनको आशंका छ ।
शव भेटिएको स्थान नजिकै रहेको सीसी क्यामरा फुटेजबाट प्रहरीले एउटा शंकास्पद दृश्य अनुसन्धानका लागि ल्याएको थियो । तस्वीरमा चारजना युवक खुट्टा भेटिए नजिकै केही फ्याँक्दै गरेका देखिन्छन् ।
तर दृश्य स्पष्ट नहुँदा प्रहरी उनीहरुसम्म पुग्न सकेन । खापुङ भन्छन्, ‘फुटेजबाट खासै उपलब्धि भएको छैन ।’ अपराध अनुसन्धान कार्यालयले शंकास्पद व्यक्तिको स्केच पनि बनाएको छ ।