कृषि विकास बैंकले सुरु गर्यो क्रेडिट कार्ड सेवा, क–कसले पाउँछन् यो सुविधा ?

मंगलबार, १५ असार २०७८

काठमाडौँ – कृषि विकास बैँकले क्रेडिट कार्ड सेवा सुरु गरेको छ । आधुनिक प्रविधिको विकाससँगै बैंकिङ्ग क्षेत्रमा विभिन्न किसिमका वस्तु तथा सेवाको विकास एवम विस्तार गर्ने क्रममा बैँकले क्रेडिट कार्ड सेवा सुरु गरेको हो ।

बैँकले आफ्ना ग्राहकलाई अत्याधुनिक बैंकिङ्ग सेवाको पहुँच पु¥याउन, बजारको माग तथा ग्राहकको आवश्यकता अनुसार आधुनिक वस्तु तथा सेवाहरु उपलव्ध गराउने क्रममा २०७८ साल बैशाख देखि क्रेडिट कार्ड सेवा सुचारु गरेको हो । हालसम्म यस बैकले ७८ वटा कार्डहरु जारी गरिसकेको जनाएको छ ।

नेपालका सरकारीस्तरका बैकहरुमा पहिलो पटक यो सेवा सुरु भएको हो । कार्यालयको कार्यक्षेत्र भित्र बसोवास गरी दिगो आयश्रोत भएका विश्वासिला नेपाली नागरिकहरु, यस बैकका पूर्व कर्मचारीहरु तथा बैकका कर्मचारीहरुले यो सुविधा प्राप्त गर्न सक्नेछन् ।

यस बैककले जारी गरेको क्रेडिट कार्डको सिमा न्यूनतम रु २५,००० देखि अधिकतम रु १०,००,००० सम्म कायम गरिएको छ । त्यसैगरी नेपाल र भारतमा चल्ने, मार्फत विभिन्न वस्तु तथा सेवा खरिदको भुक्तानी गर्न सकिने आदि विशेषताहरु रहेका छन् । साथै उक्त बैंकले क्रेडिट कार्ड सुविधा लिन आफूलाई पायक पर्ने कृषि विकास बैंक लि.का शाखा कार्यालयहरुमा सम्पर्क राख्न सम्पूर्ण ग्राहक महानुभावहरुमा समेत अनुरोध गरेको छ ।