प्रचण्डलाई अदालतले दियो झट्का, बालुवाटारमा खुशीयाली

मंगलबार, १५ असार २०७८

काठमाडौँ – नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई ठूलो झट्का लागेको छ । दल त्याग गरेको भन्दै जनप्रतिनिधिबाट पदमुक्त गराएकामध्ये दुई जना प्रमुखलाई पुनर्वहाली गरेपछि प्रचण्डलाई झट्का लागेको हो ।

सर्वोच्च अदालतले रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह र कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको हो।

मंगलबार साह र कुशवाहको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश कुमार चुँडालको एकल इजलासले निवेदकले नेकपा माओवादी केन्द्र छाडेर अर्को दल गठन गरेको वा अर्को दलमा प्रवेश गरेको यकिन हुन नसकेको भन्दै मेयर पदमा पुनर्वहाली गरिदिएको छ ।

आदेशमा प्रत्यक्ष जननिर्वाचित स्थानीय कार्यपालिकाको प्रमुखहरू भएकाले उनीहरुले सम्पादन गर्नुपर्ने स्थानीय तहसम्बन्धी कामकारवाही एवम् अधिकारमा अपूरणीय क्षति पुग्ने भएकाले मुद्दाको टुंगो नलाग्दासम्म निर्वाचन आयोगले गरेको निर्णय कार्यन्वयन नगर्न भनिएको छ ।

नेकपा माओवादी केन्द्रले गत वैशाख १४ गते निर्वाचन आयोगमा मेयर साह र कुशवाहसहित विभिन्न जिल्लाका १४ जना स्थानीय जनप्रतिनिधिले दल त्याग गरेर एमालेमा प्रवेश गरेको भन्दै पदमुक्त गर्न पत्र पठाएको थियो ।

सो पत्रका आधारमा आयोगले असार ११ गते उनीहरू पदमुक्त भएको सूचना निकालेको थियो । उनीहरु पुर्नवहाली भएपछि बालुवाटारमा खुशीयाली छाएको छ ।