बालुवाटारमा शुरू भयो एमाले महाधिवेशन आयोजक कमिटी बैठक
काठमाडौं– माधव नेपाल पक्षले राखेको माग अनुसार जेठ २ गतेकै केन्द्रीय कमिटी ब्युताउँन एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार मध्यान्ह आयोजक कमिटीको बैठक शुरु भएको हो ।
महाधिवेशन आयोजक कमिटीले जेठ २ गतेकै केन्द्रीय कमिटी ब्यूँताउने निर्णय लिने प्रवक्ता प्रदीप ज्ञवालीले लोकान्तरलाई जानकारी दिए । मंगलवार साझ बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले महाधिवेशन आयोजक कमिटी भंग गरेर जेठ २ कै केन्द्रीय कमिटी ब्युताउने निर्णय गरेको थियो ।
पुरानो केन्द्रीय कमिटीको बैठक पर्सि १८ गतेका लागि बोलाउने तय भएको प्रवक्ता ज्ञवालीले बताए । सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा एकता भंग गर्दै एमाले र माओवादीलाई ब्यूँताइदिएपछि चैत्र ७ गते केन्द्रीय कमिटी भंग गरेर महाधिवेशन आयोजक कमिटी गठन गरेको थियो ।
केन्द्रीय कमिटी ब्यूँतिएपछि माधव नेपाल पक्षको ठूलो हिस्सा केन्द्रीय कमिटीको बैठकमा सहभागि हुने संस्थापन पक्षको विश्लेषण छ । आजको बैठकमा सहभागि नभएपछि १८ गतेको केन्द्रीय कमिटी बैठकमा सहभागि हुने एमाले स्रोतले बतायो ।