दलितलाई कोठा नदिने घरबेटी प्रधानले दिइन् रुपा विरुद्ध उजुरी

बुधबार, १६ असार २०७८

काठमाडौं – दलितलाई कोठा भाडामा नदिने घरबेटी सरस्वती प्रधानले आफूलाई षड्यन्त्रमुलक ढंगले फसाइएको भन्दै रुपा सुनारविरुद्ध उजुरी दिएकी छन् । उनले आफूलाई फसाएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएकी हुन् ।

बुधबार आयोगमा निवेदन दिँदै उनले आफूले जातीय विभेद एवं छुवाछुतको व्यवहार नगरेपनि आफूमाथि षड्यन्त्र गरी प्रहरीमा थुनाएको भन्दै रुपा सुनारलाई हदैसम्मको कारबाही गर्नुपर्ने माग गरेकी छन् ।

उनले रुपा सुनारलाई कोठा खोज्न सहयोग गर्ने सुष्मा राई र सिर्जना राईलाई पनि कारबाही गर्नुपर्ने माग गरेकी छन् । आफूलाई दलित भएको कारण कोठा नदिएको भन्दै सञ्चारकर्मी सुनारले प्रहरीमा उजुरी दिएपछि प्रधान पक्राउ परेकी थिइन् । उनलाई प्रहरीले ३ दिन थुनामा राखेर छाडेको थियो ।

प्रधानले निषेधाज्ञाको समयमा पीसीआर रिपोर्ट बिना कोठा खोज्न हिँडेर महामारी फैलाउन खोजेको, अपराधिक कार्यका लागि कोठा खोज्न आएको तथा आफ्नो मञ्जुरी बेगर फोन रेकर्ड गरी त्यसैलाई आधार मानेर प्रहरीमा उजुरी दिएको आरोप रुपालाई लगाएकी छन् ।