राउटे युवतीमाथि दुर्व्यवहार गर्ने तीन जना जेल चलान, कति भयो सजाय ?
सुर्खेत – जिल्ला अदालत सुर्खेतले राउटे युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा तीन जनलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ ।
बुधबार न्यायाधीश डिलप्रकाश सापकोटाको एकल इजलासले राउटे युवतीलाई दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका गुर्भाकोट नगरपालिका–९ का दोमनबहादुर घर्ती, भूपेन्द्र बुढा र होटल सञ्चालक विनोद पुनलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।
अदालतका सूचना अधिकारी नरेन्द्रप्रसाद पोखरेलका अनुसार उनीहरुविरुद्ध मानव ओसारपसार, दुर्व्यवहार र जबरजस्ती करणीको मुद्दा दर्ता भएको थियो । गत जेठ २१ गते राति उनीहरुले १९ र २३ वर्षीया राउटे युवतीलाई यौन दुर्व्यवहार गरेको भिडियो बाहिरिएपछि २३ गते प्रहरीले पक्राउ गरेको थियो ।
फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदाय यसअघि सुर्खेत र दैलेखका विभिन्न स्थानमा बस्दै आएका थिए । यो घटना हुँदा उनीहरू गुर्भाकोट नगरपालिका–११ आँपसोतीस्थित भेरी नदीको किनारामा बस्दै आएका थिए । अहिले उनीहरू त्यो ठाउँबाट सल्यान बसाइँ सरेका छन् ।
उनीहरु माथि लागेको ओरोप प्रमाणित भए १० बर्षसम्म कैद हुने छ ।