मनकामना लघुवित्तको आइपीओ खुला, कतिसम्म पुग्ला यो कम्पनीको मूल्य ?
काठमाडौं – मनकामना स्मार्ट लघुवित्तले आइपीओ बिक्री खुला भएको छ । लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ दरको ३ लाख ८९ कित्ता आइपीओ बिक्री खुला गरेको हो ।
यसमध्ये ०.५५ अर्थात ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशत हुने १९ हजार ४५० कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी ३ लाख ६३ हजार ४९२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
मनकामनाको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । छिटोमा असार २१ गतेसम्म आइपीओ भर्न सकिनेछ, उक्त समयमा सबै आइपीओ बिक्री नभएमा असार ३१ गतेसम्म खुला रहने छ बिक्री प्रबन्धक एनएमबि क्यापिटल जनाएको छ । लगानीकर्ताले आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा तथा मेरो सेयरमार्फत अनलाइन आवेदन पनि दिन सक्नेछन् ।
क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले मनकामना स्मार्ट लघुवित्तलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी माइनस’ रेटिङ दिएको छ । यसले निष्कासनकर्ता कम्पनी समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ । इक्राले गत फागुन ११ गते उक्त रेटिङ दिएको हो । यो रेटिङ आगामी फागुन ११ गतेसम्म बाहल रहनेछ ।
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनी ऐन, २०६३ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अन्तर्गत स्थापित भएको कम्पनी हो । यस लघुवित्तको रजिष्टर्ड कार्यालय रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं. ५ मा रहेको छ । मनकामना स्मार्ट लघुवित्त २०७४ असोज २५ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको थियो ।
यसले २०७४ माघ १० गते ‘घ’ वर्गको वित्तीय संस्थाको रुपमा वित्तीय कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट इजाजत पाएको थियो । साविकको मनकामना लघुवित्त वित्तीय संस्था लिमिटेडले साविकको स्मार्ट लघुवित्त वित्तीय संस्थालाई गाभेर २०७७ साउन ११ गतेदेखि मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा एकीकृत कारोबार सुरु गरेको हो ।
हाल यस लघुवित्तले लुम्बिनी प्रदेशभित्रका १२ जिल्लाहरुमा ३७ वटा शाखा कार्यालय स्थापना गरी कारोबार गर्दै आइरहेको छ । आवश्यकता अनुसार नेपाल राष्ट्र बैंकको स्वीकृति लिएर शाखा, उपशाखा वा अन्य कार्यालय खोली कारोबार गर्न सक्नेछ ।
लघुवित्तको अधिकृत पुँजी २० करोड रुपैयाँ र जारी पुँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ छ । जारी पुँजीमध्ये ८ करोड २२ लाख ५० हजार रुपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता भइसकेको छ । बाँकी ३ करोड ८९ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागिएको हो । आइपीओपछि चुक्ता पुँजी जारी पुँजी बराबर अर्थात १२ करोड ११ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।
आइपीओपछि कम्पनीमा संस्थापक हिस्सा ६७.८९ प्रतिशत र सर्वसाधारण हिस्सा ३२.११ प्रतिशत हुनेछ । चालु आर्थिक वर्षको अन्त्यसम्म मनकामना स्मार्टले ३ करोड २१ लाख २० हजार रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ । यस्तै, आव २०७८–७९ मा ६ करोड ४६ लाख ९० हजार रुपैयाँ र आव २०७९–८० मा १० करोड ३२ लाख ५९ हजार रुपैयाँ नाफा कमाउने अनुमान छ ।
कम्पनीले तत्काल पुँजी वृद्धि गर्ने कुनै पनि योजना बनाएको छैन । आव २०७९–८० सम्म आइपीओ बिक्रीपछि कायम हुने १२ करोड ११ लाख ५० हजार रुपैयाँ पुँजी नै यथावत हुने प्रक्षेपण छ । यता, चालु आर्थिक वर्षको अन्त्यसम्ममा प्रतिसेयर आम्दानी २६ रुपैयाँ ५१ पैसा पुग्ने प्रक्षेपण रहेको छ ।
यस्तै, आर्थिक वर्ष २०७८–७९ मा प्रतिसेयर आम्दानी ५३ रुपैयाँ ४० पैसा र आव २०७९–८० मा ८५ रुपैयाँ २३ पैसा पुग्ने अनुमान रहेको छ । साथै, चालु आर्थिक वर्षको अन्त्यमा यस लघुवित्तको प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ८८ पैसा र आव २०७८–७९ मा १८६ रुपैयाँ ८१ पैसा पुग्ने अनुमान रहेको छ ।
लघुविक्तले आईपीओ जारी पश्चात दोश्रो बजारमा लिस्टिङ भएपछि बजार भाउ आकासिने आँकलन गरिएको छ । यो कम्पनीको बजारमा सप्लाई थोरै हुने र बजारमा हरेक दिन सर्किट हान्नसक्ने सम्भावना रहेको यस क्षेत्रका विज्ञहरुको भनाई छ । यो कम्पनीको प्रति कित्ता सेयर १० हजारसम्म् पुग्ने विश्लेषण भइरहेको छ ।