मेलम्चीमा फेरि बज्यो खतराको घण्टी, सतर्क रहन आग्रह
काठमाडौं – अविरल वर्षाका कारण तनहुँको बन्दीपुरस्थित विमलनगरमा मर्स्याङ्दी नदीले जलसतह सतर्कता पार गरेको छ। मङ्गलबारदेखि परेको वर्षाका कारण आज मर्स्याङ्दी नदीले जलसतह सतर्कता पार गरेको हो।
पछिल्लो छ घण्टा भारी वर्षा भएकाले नदी तटीय क्षेत्र तथा होचा स्थानमा डुबान हुनसक्ने भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ। लमजुङको घरेढुङ्गा, राइनसटारलगायतका ठाउँमा पनि नदीले जलसतह सतर्कता पार गरेको छ।
बाढीले व्यास–१ र १३ जोड्ने छाब्दीखोलाको पुल बगाएको छ। वर्षासँगै आएको पहिरोले आज बिहान व्यास नगरपालिका–१२ छिर्कनेमा एक घर पुरिएको छ। बिहान ३ बजे आएको पहिरोले घर पुरिएको हो।
कमला नदीमा बहाव बढ्यो, सचेत रहन आग्रह
अविरल वर्षासँगै कमला नदी पानीको बहाव निरन्तर बढ्दै गएपछि स्थानीय प्रशासनले नदी क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेको छ। सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलसहितको सुरक्षा निकायका प्रमुखहरुको टोलीले कमला क्षेत्रको निरीक्षण गरी नदीमा पानीको बहाव बढेकाले सचेत रहन स्थानीयवासीलाई गरेको हो।
सिन्धुलीतर्फको बहाव तीन मिटर र सोभन्दा तल अर्थात सिरहा तथा धनुषातर्फ डेढ मिटर बढेको जनाइएको छ। पानीको सतह डेढ मिटर बढ्नुको साथै निरन्तर बढ्दै गएपछि आसपासको क्षेत्रमा ‘अलर्ट’ जारी गरिएको प्रजिअ कँणेलले बताए।
मेलम्चीको बहाव बढ्यो, सतर्क रहन आग्रह
निरन्तरको वर्षाले मेलम्ची खोलाको बहाव बढेको छ। केही दिन अघिमात्र वितण्डा मच्चाएको मेलम्ची खोलाले फेरि पनि स्थानीयवासीलाई त्रसित बनाएको छ। बुधबार दिउँसोदेखि निरन्तर परेको पानीले हेलम्बुदेखि मेलम्चीसम्मको बस्ती जोखिममा परेको भन्दै प्ररीले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार तटीय क्षेत्रहरुमा अझै बाढी आउनसक्ने भएकाले सुरक्षित स्थानमा गएर बस्न आग्रह गरिएको छ। यही असार १ गते र ५ गतेको बाढीले जोगाएको खोला किनारका घर तथा संरचना र खेतीयोग्य जमिनसमेत अहिलेको वर्षाले कटान गरिरहेको मेलम्ची–११ का दशरथ दनुवारले जानकारी दिए। ुखोलाको बहाव बढिरहेको छ। अस्तिको बाढीले बचेको घर पनि लैजाने भो, ज्यान जोगाउन मुस्किल छु, दनुवारले भने।