मान्छे मारेको अभियोगमा सांसदका छोरो जेल चलान

बिहिबार, १७ असार २०७८

काठमाडौँ – मान्छे मारेको अभियोगमा प्रदेश सभाका सांसदका छोरा जेल चलान भएका छन् । लकडाउनको समयमा मापसे गरेर कार दुर्घटना गराई मजदुरको हत्या गरेको आरोपमा प्रदेश १ सभाका सांसद बिन्दिया कार्कीका छोरा रोबिन कार्कीलाई अदालत पुर्पक्षका लागि कारागार पठाएको छ ।

२० जेठ साँझ विराटनगर ४ स्थित एयरपोर्ट मार्गमा मापसे गरेर तीव्र गतिमा कुदाएको प्रदेश ३ —०१—००२ च २१३९ नम्बरको कारले ठक्कर दिँदा उद्योगमा काम गरेर पैदलयात्रा फर्कदै गरेका मजदुर ३५ वर्षीय भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको थियो । त्यही आरोपमा सांसद पुत्र विराटनगर ५ का २४ वर्षीय कार्कीलाई बुधबार जिल्ला अदालत मोरङले पुर्पक्षका लागि जेल पठाएको हो ।

बुधबार न्यायधिश सुर्दशन लामिछानको इजलासले आरोपी कार्कीलाई धरौटीमा छाडन इन्कार गर्दै थप पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको जिल्ला अदालत मोरङका श्रेष्तेदार राजकुमार दहालले बताए । घटनामा मजदुर मोरङ कटहरीका गाउँपालिका २ का २२ वर्षीय राजकुमार राजबंशी घाइते भएका थिए ।

दुर्घटना गराएर फरार भएका सांसद पुत्र कार्कीलाई प्रहरीले चार दिनपछि पक्राउ गरेर सवारी ज्यान कसुरमा मुद्दा दर्ता गराएको थियो । सरकारी वकिलको कार्यालयले कार्कीलाई १० वर्षसम्मको कैद सजाय र एक लाख रुपैयाँसम्म जरीवाना माग गर्दै अभियोगपत्र अदालतमा बुझाएको थियो ।

लकडाउनको समयमा साथीहरुसँग रेष्टुरेन्टमा मापसे गरेर सवारी कुउँदा मानिसको ज्यान जाने गरि दुर्घटना गराएका चालक कार्की तत्काल सवारी चालक अनुमति पत्र नभएकै कारण फरार भएका थिए । तर आरोपी कार्कीले १२ कात्तिक २०७५ मा बाग्मती प्रदेश यातायात व्यवस्था कार्यालयबाट सवारी अनुमति पत्र बनाएको कागजात अदालतमा पेश गरेका छन् ।

प्रहरीका अनुसार लकडाउनको समयमा कार्कीले प्रदेश सांसद आमा बिन्दिया कार्कीको नाममा रहेको कार कुदाएर मानवीय क्षति गर्ने गरि दुर्घटना गराएका थिए । मापासे गरेर कुदाएको कारले मजदुरको ज्यान गएको भन्दै कानुनी कारबाही गर्न मजदुर संगठनहरुले माग गदै आएका थिए ।

सांसद कार्कीले चाँही आफनो छोरा समेत सहभागी भएको युवाहरुको कोरोना शव व्यवस्थापन समुहलाई कार प्रयोग गर्न दिएको तर आफनो छोराले मापसे गरेर कार नकुदाएको दाबी गर्दै आएकी थिइन् ।