आन्तरिक उडान खुलेकै दिन यात्रुहरुलाई झड्का, के छ विमान स्थलको ताजा अवस्था ?

बिहिबार, १७ असार २०७८

काठमाडौं– दुई महिनादेखि बन्द भएको आन्तरिक नियमित उडान आजबाट संचालनमा आएको छ। मन्त्रिपरिषद्को बैठकले सिट सङख्या तोकेर उडान गर्न दिने निर्णय गरेको थियो। लामो दूरीका सार्वजनिक सवारी साधन अझैंसम्म बन्द हुँदा यात्रुको लागि हवाई उडान एक मात्र विकल्प देखिएको छ। त्यसैले पनि पहिलो दिनै विमानस्थलमा यात्रुको भीड देखियो।

एयरलाइन्सले आज विभिन्न गन्तव्यमा पाँचवटा उडान गरिसकेको छ। तर, लामो समयपछि नियमित उडान खुलेको भएपनि विहीबार काठमाडौंबाट बाहिरिने र काठमाडौं भित्रिने यात्रुको चाप भने त्यति धेरै नरहेको यतीका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले बताए।

उनका अनुसार अहिले उडान अवतरणमा ८० प्रतिशत अकुपेन्सी रहेको छ। यो अवस्थामा अत्यावश्यक कामका लागि आउजाउ गर्ने यात्रु मात्र हिँडेको उनको बुझाइ छ।

दुई महिनापछि खुलेको आन्तरिक उडान मौसम प्रतिकूलताका कारण भने प्रभावित भएको छ। आज बिहानैदेखि पानी परेका कारण भिजिबिलिटी प्रष्ट नहुँदा उडान निर्धारित समयमा हुन नसकेको वायुसेवा कम्पनीहरुले बताएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार मौसम प्रतिकुलताका कारण यतिखेर विभिन्न आन्तरिक गन्तव्यको उडान १५ मिनेटदेखि आधा घण्टाको फरकमा भइरहेको छ। पोखरातर्फको उडान भने अहिलेसम्म पनि हुन नकसेको वायुसेवा कम्पनीले जनाएका छन्।