एमाले उपाध्यक्ष वामदेव गौतमलाई प्रश्न, ‘केन्द्रीय कमिटी बैठकमा जानुहुन्छ कि नाईँ ?’

शुक्रबार, १८ असार २०७८

काठमाडौं – नेकपा एमालेको केन्द्रीय समिति बैठक बस्दैछ । विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्दैछ ।

उक्त बैठकमा बरिष्ठ नेता माधव नेपाल पक्षले बरिष्कार गर्ने भएको छ । पार्टी एकता महाअभियानका संयोजक एवम् एमाले उपाध्यक्ष वामदेव गौतमले निर्णय गरिसकेका छैनन् । उनले घुमाउरो पारामा केन्द्रीय कमिटी बैठकमा जान सकारात्मक देखिएका छन् ।

आजका लागि बोलाइएको बैठकमा जाने–नजाने टुंगो भने लागि नसकेको बताइएको छ । सचिवालयले नेता गौतम बैठकमा जाने सम्भावना धेरै रहेको जनाएको छ ।

हामीले उनको सचिवालयमा सम्पर्क गरेर आज आयोजना गरिएको बैठकमा सहभागी हुनेकी नहुने भनेर प्रश्न गर्दा उनको सचिवालयले घुमाउरो पारामा बैठकमा सहभागी हुने बताएका छ । “जेठ २ गतेको कमिटीको बैठक बोलाइए जाने कुरा हो । ओली पक्षले जेठ २ गतेकै कमिटी पनि भनिरहेको छ । जाने नजाने टुंगो त लागिरहेको छैन । तर, जाने सम्भावना बढेको छ,” उनको सचिवालयले भन्यो ।

तत्कालीन प्रतिनिधिसभा विघटनपछि एमाले ओली र खनाल–नेपाल समूह गुटमा विभाजन हुँदा तटस्थ बसेका गौतमले पार्टी एकताको अभियान पनि चलाएका थिए । तर, खनाल–नेपाल समूहले एमाले फुटाए आफू उनीहरुले गठन गरेको नयाँ पार्टीमा आउने अभिव्यक्ति दिएका थिए ।

यद्यपि उनी दुबै गुटका बैठकमा भने सहभागी भएनन् । दुबै पक्षले उनलाई आफ्नो समूहमा तान्ने हरप्रयास गरेका थिए ।

यसैबीच, काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच टेलिफोन वार्ता भएको छ । एमाले संस्थापन पक्षले बोलाएको बैठकमा उपस्थिति जनाउन प्रधानमन्त्री ओली नेपाललाई टेलिफोन गरेका हुन् ।

केन्द्रीय कमिटी बैठक पूर्वसन्ध्यामा अध्यक्ष ओली र नेता नेपालबीच कुराकानी भएको हो। बिहीबार बेलुकी ओली र नेपालबीच कुराकानी भएको बालुवाटार निकट श्रोतको भनाई छ । दशौं महाधिवेशन आयोजक कमिटी भंग गरेर ओलीले आज बिहान ११ बजेका लागि केन्द्रीय कमिटी बैठक बोलाएका थिए ।

तर उक्त बैठकमा सहभागी नहुने नेपाल पक्षको स्थायी कमिटी बैठकले निर्णय गरेपछि ओली थप सकस भएको थियो । बैठकमा सहभागिता र पार्टी एकतालगायत विषयमा अध्यक्ष ओली र नेपालबीच टेलिफोनमा कुराकानी भएको श्रोतको भनाई छ ।

आज पनि कुराकानीलाई निरन्तरता दिने तयारी रहेको नेताहरूले जानकारी दिएका छन्। एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले अध्यक्ष ओली र नेता नेपालबीच टेलिफोनमा कुराकानी भएको पुष्टि गरे ।

‘अध्यक्ष ओलीले पार्टी एकताका लागि प्रयास जारी राख्नुभएको छ,’ उनले भने । तामाङका अनुसार आज बिहान ११ बजे बालुवाटारमा केन्द्रीय कमिटी बैठक बस्छ। पार्टी कार्यालय थापाथलीमा ठाउँ अभाव हुने हुँदा बालुवाटारको खुला चौरमा टेन्टमा बैठक राखिएको उनको भनाई छ ।

नेपाल पक्षका नेता भीम आचार्यले अध्यक्ष ओली र नेता नेपालबीच टेलिफोनमा कुरा भएको बताए । कुराकानीलाई निरन्तरता दिने सहमति भएको उनको भनाइ छ।

आज अध्यक्ष ओली र नेता नेपालबीच भेटघाट हुन सक्ने नेताहरूले बताएका छन्। सम्भवत आज फेरि टेलिफोनमा कुराकानी र भेट नै गर्ने तयारी रहेको नेताहरू बताउँछन्।अनौपचारिक स्रोतका अनुसार नेपाल समूह लचिलो भए केन्द्रीय समिति बैठक स्थगित गर्ने तयारी छ ।