मुग्लिन–नारायणगढ सडकखण्डको जाममा फँसेको ट्रकमाथि पहिरो खस्यो

शुक्रबार, १८ असार २०७८

मुग्लिन – पहिरोका कारण अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडकखण्डको जाममा फँसेको ट्रक माथि नै पहिरो खसेको छ। इच्छाकामना गाउँपालिका ६ जलविरे नजिकै जाममा लामवद्ध रुपमा रोकिराखेको ट्रक माथि आज बिहान करिब ७ बजे पहिरो खसेको हो।

पहिरोमा नारायणढबाट मुग्लिनतर्फ सामान बोकेर आउँदै गरेको ग १ ख ९९६१ नम्बरको ट्रकको आधा भाग पुरिएको छ। पहिरोले अर्को एउटा यात्रुबाहक बसमा समेत सामान्य क्षति पुर्‍याएको छ। उक्त राजमार्ग अहिले पूर्ण रुपमा बन्द रहेको छ।

पहिरो पन्छाएर राजमार्ग सुचारु गराउन बिहानै देखि प्रहरी र सडक विभाग लागि परे पनि ठाउँ ठाउँमा पहिरो जाने क्रम नरोकिंदा राजमार्ग खुलाउन कठिन भएको छ।

बुधबारदेखि निरन्तर परिरहेको झरिका कारण निरन्तर पहिरो जाँदा मुग्लिन–नारायणगढ सडकखण्ड पटक–पटक अवरुद्ध हुँदै आएको छ । राजमार्ग अवरुद्ध हुदाँ सयौ सवारीसाधान राजमार्गमै अलपत्र परेका छन ।