बाढी पहिरोमा परी ३२ जनाको ज्यान गयो, २९ बेपत्ता
काठमाडौं – बाढी र पहिरोमा परी ३२ जनाको ज्यान गएको छ । मनसुन सक्रिय भएर अविरल बर्षापछि आएको बाढीले ३२ जना ज्यान लिएको हो ।
जेठ ३१ गतेदेखि असार १७ गतेको अवधिमा अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी थप २९ जना वेपत्ता भएका छन् भने २७ जना घाइते भएका छन् ।
यो १९ दिनको अवधिमा १६१ परिवार प्रभावित भएका छन् भने २ करोड ४६ लाख बराबरको भौतिक सम्पत्ति क्षति भएको गृहमन्त्रालयले जनाएको छ ।
२०७७ सालमा यही अवधिमा बाढी र पहिरोबाट २३ जनाको मृत्यु भएको थियो भने १८ जना घाइते भएका थिए । यो अवधिमा ३० जिल्लाका ६७ परिवार प्रभावित भएका थिए भने ७५ लाख २७ हजार बराबरको भौतिक क्षति भएको थियो ।
गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्यांकलाई हेर्दा यस वर्ष मनसुनको सुरुआती चरणमै गत वर्षको भन्दा बढी जनधनको क्षति भएको देखिन्छ ।
केन्द्रले मनसुनजन्य विपद्मा परी मृत्यु, बेपत्ता र घाइते भएकाहरुको विवरण नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांकबाट अध्यावधिक गर्दै आएको छ ।
केन्द्रले बिहीबार दिउँसो २ बजेसम्म अद्यावधिक गरेको तथ्यांक अनुसार यस वर्ष जेठ ३१ देखि असार १७ गतेसम्मको अवधिमा ४२ जिल्ला प्रभावित भएका छन् । सबैभन्दा बढी सिन्धुपाल्चोकमा ५ जनाको ज्यान गएको छ भने २० जना बेपत्ता भएका छन् ।
डोटीमा चार जना र रोल्पामा तीन जनाको ज्यान गएको छ । रौतहट, चितवन र तनहुँमा २–२ जनाको ज्यान गएका छ ।
१४ जिल्लामा एक–एक जनाको मृत्यु भएको छ । पाँचथर, सप्तरी, सिन्धुली,काभ्रे, गोरखा, कास्की, पाल्पा, अर्घाखाँची, प्युठान, दाङ, जुम्ला, कालीकोट, बाजुरा र बझाङमा एक–एक जनाको ज्यान गएको गृहमन्त्रालयले जनाएको छ ।
यस वर्षको मनसुन जेठ २८ गते नेपाल भित्रिएको थियो । जेठ ३० गते देशभर मनसुन फैलिएको थियो । मनसुन सुरुमै सक्रिय रुपमा भित्रिंदा आएको बाढी र पहिरोले बढी क्षति पुर्याएको थियो । यस वर्षको मनसुन अवधिमा नेपालमा सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण मौसमविदहरुले पहिल्यै सार्वजनिक गरेका थिए ।
अंग्रेजी महीनाको जुन, जुलाई, अगष्ट र सेप्टेम्बरलाई मनसुनको अवधि भनिन्छ । मनसुनको यो चार महीनाको अवधिमा सामान्यता १ हजार ५ सय मिलिलिटर पानी पर्छ । तर यस वर्षको मनसुनमा त्योभन्दा पनि बढी पानी पर्ने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ । बाढी पानी पर्दा बाढी र पहिरोको घटना पनि बढी नै हुने भएकाले यस वर्ष धेरै क्षति हुन सक्ने अनुमान गरिएको छ ।
गत वर्षको सुक्खायाममा लागेको डढेलोले रूखपात र पानी सोस्न सक्ने क्षमता घटाइदिएको र उद्धार, पुनःस्थापना र प्रतिकार्यका अरु क्रियाकलापहरु कोभिड १९ को सम्भावित संक्रमणबाट जोगिएर गर्नुपर्ने चुनौती रहेकाले पनि यस वर्षको मनसुनमा बढी जनधनको क्षति हुन सक्ने आँकलन गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेल बताउँछन् ।
प्राधिकरणले यस वर्षको मनसुन अवधिमा २३ जिल्लाका १७ लाख बासिन्दा बाढीबाट र २६ जिल्लाका १ लाख २० हजार बासिन्दा पहिरोबाट प्रभावित हुने आँकलन गरेको छ ।