कोरोनाको तेस्रो लहर आउने डब्लुएचओको चेतावनी

शुक्रबार, १८ असार २०७८

काठमाडौं– युरोपेली देशहरूमा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको देखिएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले झण्डै दुई महिनापछि सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि भएको बिहीबार जानकारी दिएको हो ।

डब्लुएचओले सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि हुँदा अर्को चरणको महामारी फेरि सुरु हुनसक्नेतर्फ चिन्ता व्यक्त गरेको छ ।

कोरोनाभाइरसको महामारी फैलिन नदिने उपायहरुप्रति बेवास्ता गरेमा महामारी फेरि फैलिने खतरा रहेकाले त्यसतर्फ सवै तत्काल सतर्क हुनुपर्ने संगठनको जोड छ ।

“युरोपेली क्षेत्रमा महामारीको अर्को चरण सुरु हुनसक्ने खतरा देखिएको छ, त्यसैले महामारी नियन्त्रण गर्न अपनाउनु पर्ने उपायहरुप्रति सवै सतर्क हुनुपर्दछ,” संगठनको युरोप क्षेत्रीय कार्यालयका निर्देशक हान्स क्लुगले भन्नुभयो ।

उहाँले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार युरोपेली क्षेत्रमा अहिले १० प्रतिशतको दरले सङ्क्रमितको सङ्ख्यामा बृद्धि भएको हो ।