एकाएक आयो भौतिक पूर्वाधार मन्त्रीको राजीनामा, ओली सरकारलाई धक्का
बुटवल – एकाएक शुक्रबार दिउसो भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको राजीनामा आएको छ । जनता समाजवादी पार्टी (जसपा) को तर्फबाट सरकारमा सहभागी मन्त्रीले राजीनामा दिएकी हुन् ।
लुम्बिनी प्रदेशकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले एकाएक राजीनामा दिएकी छन्। उनले शुक्रबार मुख्यमन्त्री समक्ष राजीनामा बुझाएकी हुन्।
जसपाको एक पक्ष सरकारमा सहभागी हुँदा उनीसहित ४ जना सांसद मन्त्री भएका थिए। जसपाको सरकारलाई सर्मथन नरहेकाले प्रदेश सरकारमा बसेर काम गर्न नसक्ने अवस्था आएको उनले बुझाएको राजीनामा पत्रमा उल्लेख छ।
उनीसहित ४ जना सरकारमा सहभागी भएपछि जसपा केन्द्रीय समितिको बहुमतले उनीहरुलाई सांसदबाट हटाएको थियो। उनीहरुले सांसद थमौतीको माग गर्दै सर्वोच्चमा दिएको मुद्दा विचाराधीन छ।
महन्त ठाकुर पक्षमा लागेर सरकारमा सहभागी भएकी रायमाझीलाई मुख्यमन्त्री संकर पोखरेलले काम विहिन बनाएर राखेपछि उनी असन्तुष्ट थिइन् । राज्यमन्त्रीलाई झण्डा हल्लाउने बाहेक केही काम नहुने भएकाले उनले राजीनामा दिएको उनी निकट श्रोतको भनाई छ ।
उनको राजीनामाले ठूलो अर्थ राखेको छ । संघिय सरकारमा सहभागी महन्त ठाकुर पक्षका मनत्रीलाई अदालतले बरखास्त गरेपछि ओलीसँग दुरी बढेको छ । उनको राजीनामाले महन्त ठाकुर पक्ष नेताहरु रिसाएका अर्थ लागेको छ । महन्त ठाकुर पक्षले पनि साथ नदिएको खण्डमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई थप शंकट आइपर्ने छ । उनको राजीनामाले ओलीलाई ठूलो धक्का लागेको छ ।