सर्वोच्च अदालतको संबैधानिक इजलासमा ऋषि धमलाको चर्चा

शनिबार, १९ असार २०७८

काठमाडौँ – महान्यायाधिवक्ता रमेश बडालले प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदकमा बहस गर्ने क्रममा चर्चित पत्रकार ऋषि धमलाको चर्चा गरेका छन् । सरकारको वचाउ गर्ने क्रममा धमलाको चर्चा गरेका हुन् ।

उनले कानुन व्यवसायीले संविधान नहेरी ऋषि धमलाको एफएम सुनेर बहस गरेको आरोप लगाएका छन् । संवैधानिक इजलासमा सोमबार बहस गर्दै बडालले संविधान हेर्न रिट निवेदक पक्षका कानुन व्यवसायीलाई सुझाव दिए ।

उनले भने, बिहानबेलुका एफएमले जे भन्छ, त्यसैको आधारमा बहस गर्न आएर हुँदैन, संविधान पनि हेर्नुपर्छ ।’
संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले मार्ग प्रशस्त गरेपछि जनता समाजवादी पार्टीले समर्थन गरेको हुनाले नै ओलीले फेरि उपधारा (५) मा दाबी गरेको बडालको भनाइ थियो ।

उनले भने, ‘जनता समाजवादी पार्टीले समर्थन नगरेको अवस्थामा केपी शर्मा ओलीले मार्ग प्रसस्त गर्नुभयो तर, धारा ७६ (५) का लागि समर्थन गरेपछि दाबी गर्नुभएको हो ।’ राजनीतिक परिवेश रातारात परिवर्तन हुनसक्ने ब्याख्या गर्दै बडालले धारा ७६ (३) बमोमिजको मौजुदा सरकारलाई मात्र जसपाले समर्थन नगरेको दाबी गरे ।

यसैबिच, प्रतिनिधिसभा विघटन मुद्दामा सरकारी पक्षलाई दिएको १४ घण्टाको समय सकिएको छ । अब जम्मा ७ घण्टाको सुनुवाइपछि संवैधानिक इजलासले विघटन ‘सदर’ वा ‘बदर’ भन्नेबारे फैसला गर्नेछ ।

सभामुख अग्निप्रसाद सापकोटाको तर्फका कानुन व्यवसायीको बहस आइतबार हुनेछ । सभामुख तर्फको बहस सकिएपछि रिट, निवेदकका कानुन व्यवसायीले जवाफी बहस गर्नेछन् । जवाफी बहस सकिएपछि एमिकस क्युरी ९अदालतका सहयोगी०ले संविधानको धारा ७६ (५) र राष्ट्रपतिको अधिकारको सम्बन्धमा संवैधानिक इजलासमा स्वतन्त्र राय दिनेछन् ।

आइतबार सभामुखको तर्फबाट दुई घण्टा बहस हुने अधिवक्ता श्रीकृष्ण सुवेदीले बताए । सभामुखको तर्फबाट वरिष्ठ अधिवक्ता श्याम खरेल, उपेन्द्रकेशरी न्यौपाने, लव कुमार मैनाली, अधिवक्ता मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले बहस गर्नेछन् ।

निवेदकका तर्फबाट जवाफी बहसका लागि ३ घण्टा समय छ । सो समय भित्र काँग्रेस सभापति शेर बहादुर देउवा सहितका सांसदहरूको तर्फबाट ४ जना वरिष्ठ अधिवक्ताले जवाफ दिनेछन् ।

जवाफी बहसका लागी वरिष्ठ अधिवक्ता रमन कुमार श्रेष्ठ, शम्भु थापा, बद्री बहादुर कार्की र हरिहर दाहालको नाम टुङ्गो लागेको छ । जवाफी बहसका लागी चार जनाको नाम टुङ्गो लागेको वरिष्ठ अधिवक्ता रमन कुमार श्रेष्ठले बताए ।

जवाफी बहस सकिएपछि एमिकस क्युरीले स्वतन्त्र राय दिनेछन् । सर्वोच्च अदालत बार र नेपाल बारबाट दुई–दुई जना एमिकस क्युरी छनोट गरिएको छ । विघटनको मुद्दाको सुनुवाइमा अदालतलाई सहयोग गर्न सर्वोच्च अदालत बार एसोसिएसनले वरिष्ठ अधिवक्ता कोमल प्रकाश घिमिरे र प्रकाश बहादुर केसीलाई पठाएको छ ।

नेपाल बार एसोसिएसनले वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठकलाई एमिकस क्युरीमा पठाएको छ । एमिकस क्युरीका लागी संवैधानिक इजलासले २ घण्टा समय छुट्याएको छ । सम्भवता आगामी शुक्रबार फैसला आउने छ ।