जसले छोरालाई विदेशमा अलपत्र पारेको भन्दै म्यानपावरका दलालको ज्यान लिए
काठमाडौँ – छोरालाई विदेशमा अलपत्र पारेको भन्दै एक जनाले म्यानपावरको एजेण्टको ज्यान लिएका छन् । छोराले विदेशमा राम्रो काम नपाएपछि ५० वर्षीय पशुपति कुर्मीले विदेश पठाउने ‘एजेन्ट’को ज्यान लिएका हुन् ।
कपिलवस्तु कृष्णनगर नगरपालिका–१० का ५५ वर्षीय पारस पुरीलाई उनले गोली हानी मारेका हुन् । विजयनगर गाउँपालिका १ का ५० वर्षीय कुर्मीलाई त्यही अभियोगमा प्रहरीले पक्राउ गरेको छ । उनलाई कपिलवस्तु नगरपालिका १० नेपाल–भारत सीमाबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए।
२०७५ साल चैत १७ गते राति साढे ९ बजे पुरीको गोली हानी हत्या गरिएको थियो। हत्यापछि भागिरहेका कुर्मीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा आरोपीको पहिचान खुलेपछि हिरासत लिइएको भण्डारीले बताए।
पुरी वैदेशिक रोजगारीका लागि युवाहरूलाई विदेश पठाउने कार्यमा संलग्न थिए। कुर्मीका छोरालाई विदेश पठाइदिने भनेर पुरीले १ लाख १५ हजार रूपैयाँ लिएका थिए। बहराइन पठाएकोमा राम्रो कम्पनी र तलब नपाएको भन्दै कुर्मीले पैसा फिर्ता माग्न थाले।
भण्डारीका अनुसार पटक(पटक पैसा नपाएपछि उनलाई कुर्मीले मार्ने योजना बनाए। यसमा कुर्मीसहित तीन जना व्यक्ति प्रतिवादी छन्। उनीहरूले भारतको सिद्धार्थनगर ढकारी ग्राममा बसेर हत्याको योजना बनाएका थिए।
त्यसदिन बेलुका तिनै जना मोटरसाइकलमा आएर पुरीको घर पुगेका थिए। उनीसँग वादविवाद गर्दै पैसा फिर्ता मागेका थिए। तर, पुरीले पैसा नदिएपछि कटुवा पेस्तोलबाट गोली हानी हत्या गरेको भण्डारीले बताए।
गोली हानेपछि हल्लाखल्ला भएर गाउँले भेला भएका थिए। गाउँलेलाई लक्षित गरी उनीहरूले विस्फोटक पदार्थ पड्काएर मोटरसाइकल चढेर भागेको भण्डारीले बताए। घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको उनले बताए। कुर्मीलाई कर्तव्य ज्यानमुद्दामा अनुसन्धान थालिएको भण्डारीले बताए।