मेरो शेयरको पासवर्ड बिर्सिनुभयो, आफै गर्नुहोस् यसरी रिसेट
काठमाडौँ – मेरो शेयरको पासवर्ड बिर्सिएर तनावमा हुनुहन्छ भने तपाईको तनाव दूर हुने भएको छ । अबदेखि आफ्नो मेरो शेयरको पासवर्ड आफैले रिसेट गर्न सकिने भएको छ ।
सीडीएससी एण्ड क्लियरिङ लिमिटेडले मेरो शेयरको पासवर्ड बिर्सिएमा आफैले रिसेट गर्न सकिने अप्सन थप्न लागेकाले आफ्नो पार्सवर्ड आफै फेर्न सकिने भएको हो । मेरो शेयरमा अब चाँडै ‘फर्गेट पासवर्ड’ फिचर देख्न सकिने छ । यो सुविधा उपलब्ध भएपछि प्रयोगकर्ताले डिपिमै सम्पर्क राख्नुपर्ने बाध्यताको अन्त्य हुनेछ ।
फर्गेट पासवर्ड फिचरमा क्लिक गरेर प्रयोगकर्ताले आफ्नो अकाउन्ट भेरिफाई गरेर नयाँ पासवर्ड पाउन सक्ने छन् । उक्त पासवर्ड इमेलमा आउनेछ ।
त्यस्तै, डिम्याट खाता यही महिनाभित्र नविकरण गरिसक्नु पर्ने भएको छ । बैंक तथा ब्रोकरले असार मसान्त (आर्थिक वर्ष २०७७÷७८ को अन्त) सम्ममा डिम्याट खाता नवीकरण गरिसक्नु पर्ने सूचना जारी गरेका छन् । डिम्याट खाता हरेक आर्थिक वर्षको असार मसान्तभित्र नवीकरण गर्नुपर्ने व्यवस्था छ । यसरी गरेको नवीकरण आगामी आर्थिक वर्षभरीको लागि हुनेगर्छ ।
नवीकरण नगरेमा सबै व्यालेन्स फ्रिज भएर बस्छ । फ्रिज व्यालेन्समा बसेपछि तपाईले आईपीओ भर्न सक्नुहुन्छ तर त्यसबाहेक बेच्न वा ट्रान्सफर गर्न सक्नुहुन्न । जबसम्म डिम्याट नवीकरण हुदैन तबसम्म व्यालेन्स फ्रिज भएर बस्छ ।
असार ३१ गते नवीकरण गर्ने अन्तिम दिन हो। तपाईले असार ३० गते डिम्याट खोल्नु भएको छ भने पनि ३१ गते नवीकरण गर्नुपर्छ। बैंकले तपाईंको डिम्याट खाता नवीकरण गरिदिन्छ तर यसको लागि तपाईंले बैंकलाई एक्सेस दिएको हुनुपर्छ । त्यसको लागि बैंक वा ब्रोकरमा गएर एउटा फर्म भर्नुपर्छ ।
बैंकमा गएर अटोमेटिक रुपमा डिम्याट नवीकरण गर्ने फर्म भरेपछिमात्रै यो एक्टिभ हुन्छ र आवश्यक शुल्क काटेर आफै नवीकरण हुन्छ । डिम्याट खाता नवीकरण गर्न डिम्याट खाता कहाँबाट खोलिएको हो, त्यही जानुपर्छ । बैंक अथवा क्यापिटल हो भने बैंक वा क्यापिट र ब्रोकरमा हो भने ब्रोकरमा गएर फर्म भर्न सक्नुहुन्छ ।
सबैभन्दा सजिलो डिम्याट खातालाई तपाईंले अनलाइनबाटै नवीकरण गर्न सक्नुहुन्छ । अझ सजिलोको लागि तपाईंले डिम्याट खाता र मेरो सेयर अकाउन्टलाई एक वर्षभन्दा धेरैको लागि एकै पटक नवीकरण गर्न सक्नुहुन्छ । तपाईंले एक वर्षभन्दा धेरै ५ वा १० वर्षसम्मको लागि नवीकरण गरेर बस्न सक्नुहुन्छ ।