मेडिकल कलेजको सम्बन्धन लिन २० करोड घुस, यी हुन् घुस माग्ने प्रधानमन्त्रीका एजेण्ट

शनिबार, १९ असार २०७८

काठमाडौं – एमविविएस अध्ययन गराउने मेडिकल कलेजको सम्बन्धन दिनका लागि २० करोड घुस मागेको खुलासा भएको छ । मेडिकल कलेजलाई सम्बन्धन दिनका लागि चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले २० करोड घुस मागेको खुलेको हो ।

बि एण्ड सी मेडिकल कलेज तथा टिचिङ हस्पिटल एवम् रिसर्च सेन्टरलाई सम्बन्धन माग्दा कलेजबाट २ण् करोड रुपैयाँ मागेको कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईले खुलासा गरेका हुन् । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रसाईले गिरी आयोगका उपाध्यक्ष हुनसमेत योग्य नभएको टिप्पणी गर्दै कलेजलाई सम्बन्धन माग्दा २० करोड घुस मागेको बताएका हुन् ।

‘गिरी कानुनअनुसार आयोगका उपाध्यक्ष हुन पनि योग्य छैनन्’ प्रसाईले भने, ‘कलेजलाई सम्बन्धन दिनका लागि उहाँले मसँग २० करोड घुस माग्नु भएको थियो, नदिएर अख्तियारमा गएपछि उहाँ मप्रति पूर्वाग्राही हुनुहुन्छ ।’

सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा गिरीलाई २०७६ भदौमा नियुक्ती गरेको थियो । अन्तिम तीन जना प्रतिस्पर्धीमध्ये तेस्रो नम्बरमा परेका गिरीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा तत्कालिन शिक्षा मन्त्री गिरिराजमणी पोखरेल्ले उपाध्यक्षमा नियुक्त गरिएको थियो ।

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बन्न नौ जनाले आवेदन दिएकामा प्रा.डा. सुरेन्द्र शेरचन, प्रा.डा. शम्भु कुमार पहारी र प्रा.डा. श्रीकृष्ण गिरी अन्तिम तीनको सूचीमा परेका थिए । उनीहरुमध्ये सरकारले गिरीलाई छनोट गरेको थियो ।

विगत ३७ वर्षदेखि स्वास्थ्य सेवामा सक्रिय छन् । उनी तत्कालिन अवस्थामा राष्ट्रिय ट्रमा सेन्टरमा वरिष्ठ अर्थोपेडिक सर्जनको कार्यरत थिए । डा. गिरीले त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जबाट एमबीबीएस र एमएस गरेका छन् ।

गिरिराजमणि पोखरेल स्वास्थ्य तथा जनसंख्यामन्त्री हुँदा मन्त्रालयको महत्वपूर्ण मानिने अन्तर्राष्ट्रिय समन्वय महाशाखाको प्रमुख रहेर उनले काम गरेका थिए । त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सम्भाव्यता अध्ययन समितिको संयोजकको रुपमा पनि रहेका थिए । चिकित्सा शिक्षा ऐन शुल्क निर्धारण समितिमा रहेर गरेको अनुभव पनि उनीसँग छ ।

चिकित्सा शिक्षा ऐन प्रमाणीकरण भएको ६ महिनापछि आयोगले नेतृत्व पाएको हो । आयोगको कार्यकारी भूमिकामा उपाध्यक्ष रहने कानुनी व्यवस्था छ । आयोगले चिकित्सा शिक्षाको क्षेत्रमा अवलम्बन गर्नु पर्ने राष्ट्रिय नीति तय गर्ने, संघ तथा प्रदेश तहका चिकित्सा शिक्षाको सबै तह एवं विधाको मापदण्ड र स्तर सम्बन्धी नीति तथा मापदण्ड निर्धारण गर्ने, एकीकृत प्रवेश परीक्षा (कमन इन्ट्रान्स) सञ्चालनका लागि नीति तथा मापदण्ड निर्धारण गर्ने, चिकित्सा शिक्षाको विषयमा विश्वविद्यालय, प्रतिष्ठान र परिषद्लाई आवश्यकता अनुसार निर्देशन दिनेलगायतका काम गर्दछ ।

यी काम गर्न उनले अनिवार्य घुस लिने गरेको प्रसाईको भनाई छ । प्रधानमन्त्रीलाई समेत अटेरी गर्ने गिरी पैसाको कुरा आएपछि बालुवाटार निकट बनेका थिए । प्रधानमन्त्रीलाई पनि चुनाव खर्च गर्नका लागि पैसा चाहिएकाले उनले यस्ता भ्रष्टलाई च्याप्दै आएका छन् ।