एमालेले किन डाक्यो विधान महाधिवेशन ? चार नेतालाई तोकियो मुख्य जिम्मेवारी

शनिबार, १९ असार २०७८

काठमाडौं – नेकपा एमालेले साउन २५ देखि २७ सम्म विधान महाधिवेशन डाकेको छ । त्यसको तयारीका लागि मुख्य ४ जना नेताहरूको जिम्मेवारी तोकिएको छ ।

शनिबार बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन लेखनको जिम्मेवारी दिएको छ । त्यस्तै, महासचिव ईश्वर पोखरेलले महाधिवेशनमा सांगठनिक प्रतिवेदन पेश गर्ने भएका छन् ।

बैठकले उपमहासचिव विष्णु पौडेललाई विधान संशोधन सम्बन्धी प्रस्ताव तयार पार्ने जिम्मा दिएको छ भने स्थायी कमिटी सदस्य रामवहादुर थापा बादललाई विधान महाधिवेशन व्यवस्थापन कमिटीको जिम्मा दिएको छ ।

एमालेको नवौं महाधिवेशनले विधान महाधिवेशनको निर्णय गरेको थियो । विधान संशोधन तथा पार्टीको नीति कार्यक्रम र विचारका बारेमा छलफल गर्न विधान महाधिवेशन परिकल्पना गरिएको हो । दशौं राष्ट्रिय महाधिवेशन अब नेतृत्व चयनका लागि मात्र हुनेछ ।

पार्टीको महाधिवेशनमै नीति र नेतृत्वको बहस हुँदा सबैको ध्यान नेतृत्व चयनमा केन्द्रित हुँदा व्यवस्थित ढंगले कार्यदिशा, विधान र विचारमाथि छलफल हुन नसकेकाले अब नीतिको बहस विधान महाधिवेशनमा हुने एमाले नेताहरू बताउँछन् ।

माओवादी केन्द्रबाट एमाले प्रबेश गरेका रामबहादुर थापा ‘बादल’लाई ओलीले ठूलो जिम्मेवारी दिएका छन् । उनलाई विधान महाधिवेशनको सम्पूर्ण व्यवस्थापनको जिम्मा दिइएको छ । बैचारिक नेताको छवि बनाएका बादललाई आर्थिक लगायतको जिम्मेबारी दिएपछि चौतर्फी विरोध भएको छ ।

जुनसुकै पार्टीका अधिवेशन, सम्मेलन, सभा, गोष्ठी गर्नका लागि आर्थिकको आवश्यकता पर्दछ । त्यही आर्थिक संकलन (चन्दा उठाउने) जिम्मा बादलले पाएका छन् । उनले देशभरका महाधिवेशन प्रतिनिधिलाई गास, वासको व्यवस्था गर्न, विभिन्न खालका सामाग्री प्रशारण गर्न, हला भाडा लगायतको व्यवस्था गर्न पैसा उठाउने जिम्मेबारी पाएका हुन् ।