आन्दोलनका लागि तयार रहन प्रधानमन्त्री ओलीको निर्देशन
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनका लागि तयार रहन पार्टी पङ्क्तिलाई निर्देशन दिएका छन् । शनिबार बसेको एमाले केन्द्रीय कमिटी बैंठकमा ओली यस्तो निर्देशन दिएका हुन् ।
उनले आन्दालनका लागि पार्टीका सबै पङ्क्तिलाई तयारी अवस्थामा राख्न निर्देशन दिएका हुन् । बालुवाटारमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले एमाले र एमाले नेतृत्वको सरकारविरुद्ध षड्यन्त्र भइरहेको र त्यसका लागि आन्दोलनको आवश्यकता रहेको बताएका हुन् ।
‘एमाले र एमाले सकारका विरुद्ध षड्यन्त्रपूर्ण ढंगले गतिविधि भइरहेका छन् । हाम्रै पार्टीका साथीहरु पनि एमालेलाई सिध्याउन लागिपर्नु भएको छ,’ ओलीले भने, ‘यो षडयन्त्रलाई चिर्नका लागि हामीले आन्दोलनका मैदानमा पनि जान पर्ने अवस्था आउन सक्छ ।’
आफूलाई त्यस्तो परिस्थित बन्दै गएको आभाष भइरहेको बताउँदै उनले सिङ्गो पार्टी पङ्क्तिलाई तयारीमा अवस्था राख्नुपर्ने जिकिर गरे । पार्टीको विभिन्न मोर्चामा रहेका नेताहरुलाई आन्दोलनका लागि तयारी अवस्थामा रहन ओलीले निर्देशनसमेत दिए ।
त्यस्तै, नेकपा एमालेले साउन २५ देखि २७ सम्म विधान महाधिवेशन डाकेको छ । त्यसको तयारीका लागि मुख्य ४ जना नेताहरूको जिम्मेवारी तोकिएको छ । शनिबार बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन लेखनको जिम्मेवारी दिएको छ । त्यस्तै, महासचिव ईश्वर पोखरेलले महाधिवेशनमा सांगठनिक प्रतिवेदन पेश गर्ने भएका छन् ।
बैठकले उपमहासचिव विष्णु पौडेललाई विधान संशोधन सम्बन्धी प्रस्ताव तयार पार्ने जिम्मा दिएको छ भने स्थायी कमिटी सदस्य रामवहादुर थापा बादललाई विधान महाधिवेशन व्यवस्थापन कमिटीको जिम्मा दिएको छ । एमालेको नवौं महाधिवेशनले विधान महाधिवेशनको निर्णय गरेको थियो । विधान संशोधन तथा पार्टीको नीति कार्यक्रम र विचारका बारेमा छलफल गर्न विधान महाधिवेशन परिकल्पना गरिएको हो । दशौं राष्ट्रिय महाधिवेशन अब नेतृत्व चयनका लागि मात्र हुनेछ ।
पार्टीको महाधिवेशनमै नीति र नेतृत्वको बहस हुँदा सबैको ध्यान नेतृत्व चयनमा केन्द्रित हुँदा व्यवस्थित ढंगले कार्यदिशा, विधान र विचारमाथि छलफल हुन नसकेकाले अब नीतिको बहस विधान महाधिवेशनमा हुने एमाले नेताहरू बताउँछन् ।
माओवादी केन्द्रबाट एमाले प्रबेश गरेका रामबहादुर थापा ‘बादल’लाई ओलीले ठूलो जिम्मेवारी दिएका छन् । उनलाई विधान महाधिवेशनको सम्पूर्ण व्यवस्थापनको जिम्मा दिइएको छ । बैचारिक नेताको छवि बनाएका बादललाई आर्थिक लगायतको जिम्मेबारी दिएपछि चौतर्फी विरोध भएको छ ।
जुनसुकै पार्टीका अधिवेशन, सम्मेलन, सभा, गोष्ठी गर्नका लागि आर्थिकको आवश्यकता पर्दछ । त्यही आर्थिक संकलन (चन्दा उठाउने) जिम्मा बादलले पाएका छन् । उनले देशभरका महाधिवेशन प्रतिनिधिलाई गास, वासको व्यवस्था गर्न, विभिन्न खालका सामाग्री प्रशारण गर्न, हला भाडा लगायतको व्यवस्था गर्न पैसा उठाउने जिम्मेबारी पाएका हुन् ।