महेश बस्नेतले अराजक रुपमा संघियता विरोधी प्रस्ताव राख्नुभयो : पोखरेल
काठमाडौँ – नेकपा एमालेका नेता महेस बस्नेतले पार्टी केन्द्रीय समिति बैठकमा संघीयता र धर्म निरपेक्षता खारेज गर्ने प्रस्ताव राखेपछि त्यसको विरोध भएको छ । संघियता र धर्म निरपेक्षताले अराजकता र अस्थिरता निम्त्याएको भन्दै समीक्षा गर्नुपर्ने प्रस्ताव राखेपछि एमालेभित्रैबाट विरोध भएको हो ।
एमाले केन्द्रीय कमिटीको बालुवाटारमा बसेको बैठकमा बस्नेतले संघीयताको समीक्षा गर्न जरुरी रहेको प्रस्ताव राखेपछि एमालेकै अर्का नेता आनन्द पोखरेलले यसको विरोध गरेका छन् । ‘महेश बस्नेतले अराजक रुपमा बैठकमा प्रस्ताव राख्नुभयो यो प्रस्ताव एमाले नीति विपरित छ ।’ नेता पोखरेलले पत्रकार ऋषि धमलासँग भने, ‘उहाँले उक्त प्रस्ताव फिर्ता लिनुहुन्छ ।’
नेपाली रेडियो नेटवर्कका कार्यक्रम नेपाली बहसमा धमलासम्ग बोल्दै पोखरेलले कम्युनिस्ट पार्टी धर्म निरपेक्षाका विरुद्धमा जान नसक्ने बताए । संघियता नेपालमा पहिलो अभ्यास भएकाले विस्तारै सिस्टमको विकास हुने बताए । उनले बस्नेतको प्रस्तावले बहस सृजना गरेको भएपनि त्यो एमालेका लागि मान्ने नभएको बताए ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि उनको उक्त प्रस्तावलाई स्वीकार गरेका थिए । ओलीले उनको प्रस्तावमाथि टिप्पणी गर्दै लोकतन्त्रमा आफ्ना विचार राख्न पाउने अधिकार भएकाले तपाई प्रस्ताव पनि छलफलका लागि टेबुल हुने बताएका थिए । ओलीका विश्वास पात्र बस्नेतले यस्तो प्रस्ताव पेस गर्नु भनेको ओलीकै प्रस्ताव भएको विश्लेषण गर्न थालिएको छ ।
‘हाम्रो राज्य प्रणाली र राज्यको शासकीय स्वरुपबारे समीक्षा गर्ने बेला आएको छ। संघीयताको बारेमा समीक्षा गर्न सबैभन्दा जरुरी छ। प्रदेशमा अनेक खालका विकृति र विसंगति देखिएका छन्,’ आफ्नो प्रस्तावबारे बस्नेतले भने, ‘प्रदेश सभा र यसको सरकार अहिलेको मोडालिटीमा नभई फरक तरिकाको हुन जरुरी छ। स्थानीय तहका प्रमुख र उपप्रमुखको मतदानबाट स्थायी प्रकृतिको प्रदेश सरकार निर्माण गर्नुपर्छ।’
प्रदेश सरकारहरू विगतको जिल्ला विकास समितिको मोडालिटीमा हुनपर्ने उनको तर्क छ। संघीय व्यवस्थाभन्दा पहिलाका जिल्ला विकास समितिहरू बलिया रहेको उनको भनाइ छ। उनले धर्म निरपेक्षताको बारेमा समेत बहस गर्न जरुरी रहेको प्रस्ताव गरेका छन्। राज्यको कुनै धर्म नहुने भए पनि हिन्दु धर्मको पहिचान र महत्व झल्काउने व्यवस्था कायम गर्नुपर्ने उनको भनाइ छ।
‘राज्यको आफ्नो धर्म हुँदैन। तर हामीले हाम्रो इतिहास, परम्परा र संस्कृतिको संरक्षण गर्नुपर्छ,’ उनले भने, ‘नेपालमा हिन्दु धर्म मान्नेहरू धेरै छन्। र हाम्रो मौलिकता यही हो भनेर भन्न सक्नुपर्छ।’
उनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने र एउटै व्यक्ति दुई कार्यकाल भन्दाबढी प्रधानमन्त्री हुन नपाउने प्रावधान गर्न समेत उनले केन्द्रीय कमिटी बैठकमा प्रस्ताव गरेका छन्।
त्यस्तै, पार्टीमा पनि एउटा व्यक्ति दुई कार्यकाल भन्दाबढी अध्यक्ष हुन नपाउने प्रावधान राख्नुपर्ने उनको भनाइ छ। पार्टी र राज्यका राजकीय र शासकीय स्थानमा युवाहरूको ४० प्रतिशत सुनिश्चित गर्न समेत उनले माग गरेका छन्।