मावध नेपाललाई फकाउन ओली पक्षीय नेताहरु विहानैदेखि दौडधुपमा
काठमाडौं– प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु मावधकुमार नेपालसँग छलफल गर्न कोटेवश्वर पुगेका छन्।
नेता विष्णु पौडेल र सुवास नेम्वाङ वरिष्ठ नेता नेपाल निवास कोटेश्वर पुगेका हुन्। उनीहरूबीच छलफल चलिरहेको एक नेताले बताए।
प्रधानमन्त्री ओली र नेपालबीच भेटवार्ता गराउन पौडेल र नेम्वाङ कोटेश्वर पुगेको जनाएको छ। “पार्टी एकताको लागि ओली र नेपालबीच भेटवार्ता गराउने प्रयास भइरहेको छ,” ति नेताले भने।
शनिबार ओली र नेपालबीच फोन संवाद भएको थियो। दुवै नेताबीचको फोन संवादमा कुनै सहमति बन्न सकेको थिएन। ओलीले हस्ताक्षर फिर्ता लिन आग्रह गरेका थिए भने नेपालले पार्टी एकतासँग हस्ताक्षरको कुनै सम्बन्ध नभएको भन्दै फिर्ता नलिने जनाएका थिए।
यअसघि शुक्रबार पनि दुवै नेताबीच फोन संवाद भएको थियो। त्यसमा ओलीले केन्द्रीय कमिटी बैठकमा आउन आग्रह गरेका थिए भने नेपालले केन्द्रीय कमिटी बैठक रोक्न अनुरोध गरेका थिए।
त्यसयता दुवै पक्षका दोस्रो तहका नेताहरू छलफलमा जुट्दै आएका छन्। तर, कुनै सहमति बन्न सकेको छैन। त्यसैले दुवै शीर्ष नेताबीच भेटवार्ता गराएर सहमति खोज्ने प्रयास गरिएको कोटेश्वरमा रहेका अर्का नेताले बताए।